भारत र भुटानका टोलीसहित ‘ए’ डिभिजन क्लबले केपी ओली कप खेल्ने
काठमाडौँ । केपी ओली कप फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा दुई विदेश टोलीसहित नेपालका ‘ए’ डिभिजन क्लब खेल्ने भएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा फागुन ११ गतेदेखि १९ गतेसम्म केपी ओली कप काठमाडौंमा हुँदैछ । यस पटक भुटान र भारतका क्लबले पनि खेल्ने आयोजकले जनाएको छ ।
बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले नकआउटका आधारमा हुने प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिताका खेलहरू च्यासल, र दशरथ रङ्गशाला हुने भएको छ ।
सेमिफाइनलसम्म च्यासल रङ्गशालामा हुनेछ भने फाइनल खेल दशरथ रङ्गशालामा खेलाइने भएको छ । प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
म्यान अफ दी म्याचले १५ हजार र हरेक खेल जित्ने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । गत वर्ष सम्पन्न पहिलो संस्करणमा मछिन्द्र क्लबले सातदोबाटो यूथ क्लबलाई हराउँदै उपाधि जितेको थियो ।