उद्योगहरूमा रोजगारी सिर्जना गर्न त्रिपक्षीय सम्झौता
काठमाडौँ । उद्योगहरूमा रोजगारी सिर्जना र सीपयुक्त जनशक्ति उत्पादनको लागि कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षणको लागि त्रिपक्षीय सम्झौता भएको छ ।
आइतबार सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा एक कार्यक्रमका बीच लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र ६ उद्योगहरूबिच त्रिपक्षीय सम्झौता भएको हो ।
सम्झौता पत्रमा केन्द्रका तर्फबाट कार्यकारी निर्देशक दीपक घिमिरे, उद्योग परिसंघको तर्फबाट महानिर्देशक दीपक जोशी र उद्योगहरूको तर्फबाट सम्बन्धित प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा ६ उद्योगहरूले १ हजार ६६३ जना प्रशिक्षार्थीहरू श्रमिक छनोट गरी प्रशिक्षण प्रदान गरी रोजगारीमा लगाउने छन् । हस्ताक्षर कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सम्झौताबाट स्वदेशमा नै तालिम प्राप्त दक्ष जनशक्ति निर्माण हुने र देशभित्रै सीपयुक्त रोजगारीको अवसर प्राप्त हुने विश्वास रहेको बताए ।
उनले रोजगारीको लागि नेपाली युवा जनशक्ति विदेश पलायन हुने क्रम बढिरहेको र मुलुकमा दक्ष जनशक्ति अभाव भएर उद्योगहरू सञ्चालनमा विदेशबाट जनशक्ति ल्याउनुपर्ने बाध्यता रहेको बताए । नेपालमा भएको जनशक्ति विदेशमा पलायन हुने र आवश्यक पर्ने जनशक्ति विदेशबाट ल्याउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले उद्योगको कार्यस्थलमा आधारित रोजगारमूलक परीक्षण कार्यक्रम सुरुवात गरेको मन्त्री रिजालको भनाई छ ।
उनले विगतका वर्षहरूमा कार्यविधिगत जटिलता र प्रचारप्रसारको कमीले कार्यक्रमले अपेक्षाकृत लक्ष्य हासिल गर्न नसकेको बताए । उनले त्रिपक्षीय सम्झौताले उद्योगहरूको उत्पादकत्व वृद्धिमा योगदान पुग्ने र स्वदेशमा रोजगारीको थप अवसर सिर्जना हुने विश्वास लिएको बताए ।
उनले कार्यक्रम सफल बनाउनको लागि उद्योग क्षेत्रको प्रतिबद्धता र लघु,घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको क्षमता र सुदृढीकरण आवश्यक रहेको बताए । उनले कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम अन्तर्गत ४ हजार दक्ष बनाएर रोजगारी सिर्जना लक्ष्य रहेको बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले सीपयुक्त जनशक्ति उत्पादन गर्न सरकारको कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रममा परिसंघले सम्झौता गर्दै आएको बताए । उनले गत वर्ष पनि परिसंघले १७ उद्योगबाट १ हजार जना श्रमिकलाई तालिम दिएर रोजगार उपलब्ध गराउने सम्झौता गर्दा कार्यविधिमा भएको केही अप्ठ्यारा प्रावधानहरूका कारण कार्यान्वयन हुन नसकेको स्मरण गरे ।
उनले यो वर्ष पनि परिसंघका ९ उद्योगबाट २१ सय श्रमिकलाई तालिमको लागि आवेदन दिएकोमा १६ सय श्रमिक तालिमको लागि सहभागिता भएको बताए । उनले कार्यक्रमलाई थप प्रभावकारी बनाउनको लागि सरकारले कार्यविधिमा भएका चुनौतीहरूलाई समीक्षा गरी उद्योगमैत्री बनाउन आवश्यक रहेको बताए ।
सम्झौताअनुसार प्रशिक्षार्थी कामदारको अधिकतम पाँच महिनाको पारिश्रमिक नेपाल सरकारको तर्फबाट लघु,घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले व्यहोर्ने र त्यसपछि उद्योगहरूले १८ महिना रोजगारीको सुनिश्चितता गर्नुपर्ने छ ।