विदेशी कलाकारको विज्ञापनलाई सामाजिक सञ्जालमा पनि रोक लगाउँदैछौँ : अध्यक्ष हुमागाईँ

काठमाडौँ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विदेशी कलाकारको विज्ञापनलाई नेपालको सामाजिक सञ्जालमा रोक्नेगरी सामाजिक सञ्जाल सम्बन्धी ऐन बनाइरहेको बताएका छन् ।

सोमवार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले यसको लागि मस्यौदा तयार भइसकेको बताए ।

उनले विज्ञापन बोर्डले अब विदेशी कलाकारहरूको विज्ञापन सामाजिक सञ्जालमा रोक्ने प्रस्ताव गरेको बताए । उनले क्लिन फिड पोसिली बनाएसँगै विदेशी टेलिभिजनहरूमा विदेशी विज्ञापनलाई रोक लागेको बताए ।

नेपाली कलाकारहरूलाई प्रश्रय दिनको लागि र नेपाली कला, संस्कृतिलाई प्रश्रय दिनका लागि डबिङ विज्ञापनलाई पनि रोकेको बताए । विज्ञापन नियमन गर्ने ऐन, २०७६ बनाएर ७६ को दफा ३ मा नेपालमा विज्ञापनमा डब गर्न नपाउने व्यवस्था गरिएकाले अहिले नेपालमा कुनैपनि विदेशी कलाकारहरूको विज्ञापन डब गरेर प्रसारण गर्न नपाइने बताए ।

उनले भने ‘क्लिन फिड पोसिलीले एउटा महत्वपूर्ण पाटो भनेको विदेशी टेलिभिजनहरूमा विदेशी विज्ञापनलाई रोक लगायो । त्यति मात्र गरेर नेपाली कलाकारहरूलाई प्रश्रय दिनको लागि र नेपाली कला, संस्कृतिलाई प्रश्रय दिनका लागि हामीले डबिङ विज्ञापनलाई रोक्यौँ । तर पोसिली २०७३ सालमा आए पनि त्यो कार्यान्वयनमा आउन सकेन । त्यसपछि हामीले विज्ञापन नियमन गर्ने ऐन, २०७६ बनायौँ । त्यो ७६ को दफा ३ मा नेपालमा विज्ञापनमा डब गर्न नपाउने व्यवस्था गरियो । जसको परिणामस्वरुप अहिले नेपालमा कुनैपनि विदेशी कलाकारहरूको डब गरेर प्रसारण गर्न पाइँदैन । तर प्रश्न उठेको छ, डिजिटल मिडियामा के त ? निकट भविष्यमा सामाजिक सञ्जाल सम्बन्धी ऐन आउँदैछ । त्यसको मस्यौदा तयार भएको छ र विज्ञापन बोर्डको प्रस्ताव छ, अब विदेशी कलाकारहरूको विज्ञापन हामी सामाजिक सञ्जालमा पनि रोक्छौँ । कि यो खुला हुन्छ, कि रोकिन्छ ।’

अध्यक्ष हुमागाईँले दुई अर्थी लाग्ने विज्ञापनहरू भए गुनासो गर्न र एक्शनयोग्य गुनासाहरूको सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *