साम्बा पुगिन् फ्रान्स, अब फ्रान्सको शीर्ष डिभिजन लिग खेल्ने

नेपाली महिला फुटबल टोलीकी प्रमुख स्ट्राइकर साबित्रा भण्डारी साम्बाले फ्रान्सको शीर्ष डिभिजन लिग डी वान आर्केमा खेल्ने भएकी छन्। फ्रान्सेली क्लब एना भान गेङगाङ्पले साम्बालाई सिजनको बाँकी खेलका लागि अनुबन्ध गर्न लागेको हो।

क्लबसँग सम्झौता गर्न सोमबार साम्बा फ्रान्स गएकी छन्। सम्झौता अघि मेडिकल हुनेछ। मेडिकलपछि उनलाई क्लबले सार्वजनिक गर्नेछ।

साम्बा यसै सिजन मात्र इजरायली क्लब हापोयल रानानाबाट घरेलु लिग खेले पनि प्यालेस्टाइन र इजरायलबीचको द्धन्द्धका कारण लिग रोकिएको थियो। लिग नभएपछि उनी नेपाल फर्किएकी थिइन्।

तर उनलाई त्यो भन्दा राम्रो अवसर आएको छ। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ४३ गोल गरिसकेकी छन्।

सम्बाले भारतीय लिगमा पनि आफ्नो छाप छोडिसकेकी छन्। साबित्रा सन् २०१८/१९ सिजनमा भारतीय आइ लिग क्लब सेथु एफसीमा अनुबन्ध भएकी थिइन् । लिगका सात खेलमा १५ गोल गरेपछि साबित्राको चर्चा एकाएक चुलिएको थियो।

उनको डेब्यु सिजनमै सेथु च्याम्पियन बनेको थियो। र सम्बाको प्रमुख भूमिका थियो।

अर्को सिजन २०१९/२० साम्बा गोकुलम केरलामा अनुबन्ध भइन्। यसपाली सात खेलमा १६ गोल गरेकी साबित्राले गोकुलमलाई पनि च्याम्पियन बनाइन्।

२०२२/२३ मा गोकुलमकै प्रतिनिधित्व गरेकी साबित्राले १० खेलमा कीर्तिमानी २९ गोल गरिन्। यस पटक पनि उनको टोली च्याम्पियन बन्यो । त्यसपछि एक वर्ष घुँडाको चोटका कारण मैदान बाहिर रहिन्। कतारमा उपचार गरेर फर्किएपछि उनी पुनः चम्किन थालेकी हुन्।

फ्रान्समा उनी आवद्ध हुन लागेको क्लब एना भान गेङगाङ्प १२ खेलमा ८ अंक जोड्दै तालिकाको १० औं स्थानमा छ। १२ टोली सहभागि रहेको लिगमा पुछारको दुई टोली रेलिगेसनमा पर्नेछन्।

लिगमा अब एना भान गेङ्गाङ्पले १० खेल खेल्न बाँकी छ। जसका लागि उनलाई अनुबन्ध गर्न लागेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *