आर्सनलले हरायो लिभरपुल, घट्यो अंक दुरी

काठमाडौं । आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलमाथि ३-१ गोलको शानदार जीत हासिल गरेको छ । योसँगै टोलीले शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दुरी दुई अङ्कमा झार्न सफल भएको हो ।

आर्सनलको जितमा बुकायाे साका, गाब्रिएल मार्टीनेली र लियान्द्रो ट्रोसार्डले एक-एक गोल गरे । खेलको १४औं मिनेटमा साकाले गोल गर्दै खेलमा आर्सनलका लागि सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफको अन्त्यतिर लिभरपुलले बराबरी गोल गर्यो । लुइज डियाजको क्रस आर्सनल डिफेन्डर गाब्रिएल माघालेसले आफ्नै जालिमा हालेपछि लिभरपुलले खेलमा बराबरी गोल गर्यो । दोस्रो हाफमा आर्सनलमाथि लगातार आक्रमण बुनेको लिभरपुलले दुई गोल खान पुग्यो ।

६७औं मिनेटमा लिभरपुलका डिफेन्डर भर्जिल भ्यान डाइक र गोलरक्षक एलिसन बीचमा तालमेल नमिलेपछि मार्टीनेलीले गोल गरेका थिए । ८८औं मिनेटमा लिभरपुल दश जनमा सिमित भयो । डिफेन्डर इव्राहिम कोनाटे दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिए । त्यसको चार मिनेटमा आर्सनलले अर्को गोल थप्यो । इन्ज्युरी समयको दोस्रो मिनेटमा ट्रोसार्डले सुन्दर गोल गर्दै खेलमा आर्सनलको जित सुनिश्चित गरे ।

जित पछि आर्सनलले शीर्ष स्थानको दूरी घटाएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको २३ खेलमा ४९ अंक छ । लिभरपुल २३ खेलमा ५१ अंक सहित शीर्ष स्थानमा कायम छ । तेस्रो स्थानमा रहेको र २१ खेल खेलेको म्यानचेस्टर सिटी दुई जित सहित शीर्ष स्थानमा उक्लिन सक्ने छ । सिटीले सोमबार ब्रेन्टफर्डको सामना गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *