क्यानडाविरुद्ध जितका लागि नेपालले पायो २८६ रनको विशाल लक्ष्य
काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ ।
टियु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन जोड्यो ।
क्यानडाका व्याटरसामु नेपाली बलरहरुले गतिलो प्रदर्शन गर्न सकेनन् ।
ओपनर आरोन जोन्सन र नवनित धलिवालले क्यानडाका लागि राम्रो सुरुवात दिलाउँदै सर्वाधिक योगदान पनि दिएका थिए । जोन्सनले ६५ रन जोड्दा नवनित ओडीआईको पहिलो अर्धशतकबाट २ रनले चुके ।
पहिलो विकेटका लागि यी दुईले ९४ रन जोडेका थिए । १९ औं ओभरमा आकाश चन्दले धलिवललाई कट बिहाइन्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
त्यसपछि २३ औं ओभरमा जोन्सन रनआउट भए । ६२ बलमा १० चौका र २ छक्कासहित ६५ रनमा खेल्दा उनी सिंगल चोर्ने प्रयासमा भीम सार्कीको थ्रोमा रनआउट भएका थिए । त्यसपछि तेस्रो विकेटका लागि पर्गत सिंह र निकोलस किर्तनले ५३ रनको साझेदारी गरे ।
कप्तान रोहितले दुवैलाई आउट गर्दै नेपाललाई खेलमा फर्काए । पर्गत ३८ बलमा ३८ रन जोड्दै सोमपालको हातबाट समातिए । त्यस्तै किर्तन २० रनमा स्टम्पिङ आउट भए ।
३५ औं ओभरमा सूर्यले हर्ष ठाकरलाई ३ रनमा कट बिहाइन्ड गराए । सूर्यको ओडीआई करिअरमा यो पहिलो विकेट समेत हो । उनले विहीबार भएको पहिलो खेलमा डेब्यु गरेका थिए ।
३९ औं ओभरमा कुशल मल्लले दिलप्रित बज्वालाई बोल्ड गर्दै क्यानडालाई २१२–६ को स्थितिमा पुर्याए । दिलप्रितले २ चौका र १ छक्कासहित १९ रन जोडे । ४१ औं ओभरमा कप्तान साद बिन जफर कुशलकै बलमा क्याच आउट भए ।
पवन सर्राफले ४५ औं ओभरमा शाहिद अहमदजाइलाई १३ रनमा बोल्ड गरे । नवौं विकेटका लागि श्रेयस मोभा र उदय भगवानले रनको ४६ रनको साझेदारी गरे । मोभाले अन्तिम बलमा क्याच आउट हुनुअघि ४० रन बनाए । भगवान २० रनमा नटआउट रहे ।
नेपालका लागि रोहित पौडेल र कुशल मल्लले २–२ विकेट लिए । सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफको नाममा १–१ विकेट रह्यो ।