घरवास : ग्रामीण पर्यटन
ग्रामीण भेगलाई पर्यटनमा जोड्ने सर्वत्र प्रयास भइरहेको देखिन्छ । पर्यटनका लागि आधुनिक वातावरण मात्र नभएर, गाउँले परिवेश पनि महत्त्वपूर्ण हुन्छ भन्ने भावनाको विकास भएको भान हुन्छ । गाउँले परिवेशमा रमाउने माध्यम घरवास अर्थात् ‘होमस्टे’ बनेको छ । जहाँ पर्यटकहरूले गाउँलेसँगै बसेर गाउँको वातावरणमा रमाउने अवसर प्राप्त गर्दछन् । नेपालमा घरवासको सुरुवात वि.सं. २०५४ सालदेखि सिरुबारीबाट भएको हो । यसभन्दा पहिले पनि पाहुनालाई सशुल्क राख्ने व्यवस्था गरिएतापनि होमस्टेको नामाकरण भने गरिएको थिएन । अहिले देशका विभिन्न स्थानहरूमा होमस्टेको सञ्चालन भइरहेका छन् । होमस्टे पर्यटनको एउटा अंग हो ।
स्थानीय व्यक्तिले आफ्नो घरमा पर्यटकका लागि आतिथ्यता गर्नु आफूजस्तै बस्न, खान एवम् संस्कृति बुझ्न चाँजो मिलाएर आफ्नै घरमा तयार पारिएर राखिएका कोठालाई होमस्टे भनिन्छ । होमस्टेको मुख्य मर्म ग्रामीण रहनसहन एवम् मौलिकतालाई जगेर्ना गर्न प्रेरित गर्नु हो । फरक स्थानबाट आगन्तुकहरू मौलिकताको स्वाद चाख्न गाउँमा आइ होमस्टेमा बस्छन् । होमस्टे आर्थिक उपार्जनको दरिलो माध्यम पनि हो । जहाँ पाहुनालाई सशुल्क सत्कार गरिन्छ । होमस्टे सञ्चालकलाई ‘होस्ट’ अर्थात् आयोजक भनिन्छ । जसले आफूकहाँ आएका पाहुनालाई खानपान, बसोबास, आफ्नो स्थानको बारेमा जानकारी दिने, सांस्कृतिक एवम् दैनिक क्रियाकलापको अवलोकन लगायतका प्रबन्ध मिलाउने कार्य गर्दछ । यसले सामाजिक, सांस्कृतिक र आर्थिक प्रभाव पारेको हुन्छ ।
होमस्टेमा आएर बस्ने पाहुनाले सुविधाअनुसार शुल्क खर्च गर्दछ भने आयोजकले व्यवस्थापन गरी अर्थोपार्जन गर्ने अवसर प्राप्त गर्छ । नयाँ संस्कार संस्कृतिका विषयमा पाहुनालाई चासो हुन्छ । होमस्टेमा आएर बस्ने प्रायःजसो सामाजिक, सांस्कृतिक गतिविधि एवम् उक्त स्थानको विषयमा ज्ञानोपार्जन गर्ने अपेक्षाले आएका हुन्छन् । जसलाई जगेर्ना गर्न आयोजकलाई प्रेरित गर्दछ । भिन्न स्थान वा संस्कृतिबाट आएका पर्यटकलाई स्थानीय रहनसहन, व्यवहार, चालचलन, कला, संस्कृति, खानपान एवम् स्थानीय परिवेशको स्वाद दिन र बुझाउनका लागि होमस्टे आवश्यक छ । होमस्टे सामाजिक, सांस्कृतिक पाठ सिक्ने पाठशाला पनि हो ।
भिन्न स्थान वा संस्कृतिबाट आएका पर्यटकलाई स्थानीय रहनसहन, व्यवहार, चालचलन, कला, संस्कृति, खानपान एवम् स्थानीय परिवेशको स्वाद दिन र बुझाउनका लागि होमस्टे आवश्यक छ । होमस्टे सामाजिक, सांस्कृतिक पाठ सिक्ने पाठशाला पनि हो ।
नेपालमा पर्यटनको आगमन सन् १८०० को दशकबाट भएको पाइन्छ । त्यस बेला पर्यटनको नामले भन्दा पनि तीर्थयात्रा वा व्यापारिक यात्राको नामले प्रचलित थियो । विभिन्न स्थानबाट मानिसहरू धर्म प्रचार गर्न वा व्यापारिक प्रयोजनका लागि आउने गरेको इतिहास भेटिन्छ । सन् १९५३ को दशकमा नेपाल सगरमाथाको देश भनेर चिनिन थाल्यो । त्यसपछि साहसिक पर्यटकको आवागमन हुने क्रम बढ्यो । पाहुनाहरू लामो समयका लागि आउन थालेपछि उनीहरूका लागि भनेर बसोबासको प्रबन्ध मिलाउन थालियो । साना–ठूला होटेल, लजको स्थापना भए ।
होटल नभएका स्थानमा घरमै वास दिने गरिन्थ्यो । त्यसबेलादेखि नै आगन्तुकलाई बसोबासको सेवा दिने चलन चलेको थियो । वि.सं. २०६७ सालमा सरकारले होमस्टे कार्यविधि ल्याएपछि यसप्रति चासो जागेको देखिन्छ । त्यसबेलादेखि जनतालाई होमस्टे सञ्चालनमा आकर्षित गर्न चेतना फैलाउने कार्यहरू भए । पर्यटनमा ग्रामीण भेगलाई संलग्न गराउन कदमहरू चालिन थाले । यसले होमस्टेप्रतिको मोह जगायो ।
हरेक चिजको दुई वटा पाटाहरू हुन्छन् । सकारात्मक पक्ष र नकारात्मक पक्ष । सकारात्मक गुणलाई गुणा गर्दै जानुपर्छ भने नकारात्मक गुणलाई भाग गर्दै जानु उपयुक्त हुन्छ । होमस्टेका थुप्रै फाइदाहरू छन् । यसका बाबजुद पनि केही अँध्यारा पाटाहरू छन् । यसको विषयमा छलफल गरिनु पर्दछ । सकारात्मक पक्षलाई मात्र आत्मसात् गरी नकारात्मक पक्षलाई बेवास्ता गरेको खण्डमा यसले दुर्घटना पनि निम्त्याउन सक्छ । यसैले नकारात्मक पक्षलाई न्यूनीकरण गर्दै अघि बढ्न सके दिगो पर्यटनको सपना साकार हुन्छ । बुँदागत रूपमा होमस्टेका दुई पक्षका विषयमा चर्चा गरौँ ।
सकारात्मक पक्ष
-रोजगारको सिर्जना गराउँछ ।
-आर्थिक स्रोत बढ्छ ।
-जीवनस्तर उस्किन्छ ।
-संस्कृति जगेर्नामा चासो जाग्छ ।
-संस्कृति फिजिने मौका हुन्छ ।
-पलायन हुनबाट रोक्छ ।
-स्थानीय चिजको प्रयोग हुन्छ ।
-भाइचारा सम्बन्धको विकास हुन्छ ।
-सूचना र प्रविधिमा अद्यावधिक (अपडेट) हुने मौका मिल्छ ।
-ग्रामीण भेगको संलग्नता बढ्छ ।
-स्थानीय उत्पादनमा बढोत्तरी हुन्छ ।
-स्थानीय चिजले बजार भाउ पाउँछ ।
नकारात्मक पक्ष
-आपराधिक घटना हुनसक्छ ।
-अप्रत्याशित महँगी बढ्न सक्छ ।
-लागुऔषधको सम्भावना हुन्छ ।
-सांस्कृतिक विचलन आउन सक्छ ।
-महिला वा बच्चाहरूमा श्रम शोषण हुनसक्छ ।
-यौनजन्य क्रियाकलापले प्रश्रय पाउन सक्छ ।
यी माथिका बुँदा प्रतिनिधित्व मात्र हुन् । यसको विषयमा छलफल चलाएमा अन्य थुप्रै सकारात्मक र नकारात्मक बुँदा थपिन सक्छ । सकारात्मक पक्षले काम गर्ने हौसला प्राप्त हुन्छ । नकारात्मक पक्षले सच्चिने मौका दिन्छ । यसैले हामीले यी विषयमा चर्चा गर्नु भने हिचकिचाउनु हुँदैन । नकारात्मक पक्षहरू रहेछ भनेर हात बाँधेर बस्नु मुनासिब होइन । सकारात्मक पक्षलाई उजागर गर्दै नकारात्मक पक्षलाई न्यूनीकरण गर्न चाहिँ डगमगाउनु हुँदैन । यसलाई स्वास्थ्यकर बनाइ राख्नका लागि मौलिकतालाई जोगाइ राख्नुपर्छ । स्थानीय चिजको अधिकतम प्रयोग गर्नुपर्छ । बाह्य प्रभावलाई भित्र दिनु हुन्न । होमस्टेमा आउने पाहुनाको पार्श्वचित्र बुझ्नुपर्छ । उनीहरूको मनोभावना बुझी कदम चाल्नुपर्छ । अनि मात्र होमस्टेको उद्देश्यअनुसारको सफलता प्राप्ति हुन्छ ।