नेपाल नामिबियासंग फेरी पराजित
काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खलाको तेस्रो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।
नेपालले दिएको १ सय ६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो ।
नामिबियाका लागि कप्तान जेराल्ड इरासमसले अर्धशतक प्रहार गरे ।
कुशल भुर्तेलको बलमा करण केसीबाट क्याच हुनुअघि उनले ५६ बलमा ८ चौका र २ छक्का प्रहार गरे ।
नामिबियाले पाँच ओभरभित्र दुई विकेट गुमाए पनि इरासमस र मिकेल भानले तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरे । भानले कुशल मल्लबाट आउट हुनुअघि ३१ रन जोडे ।
अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न नसके पनि जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानले अन्तिमसम्म ब्याटिङ गरेर नामिबियालाई जित दिलाए ।
स्मिथले ६६ बल खेलेर नटआउट ३४ रन जोडे भने ट्रम्पलम्यानले १६ रनमा आउट भए ।
बलिङमा नेपालका कुशल भुर्तेलले तीन विकेट लिँदा कुशल मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशले एक-एक विकेट हात पारे ।
यसअघि नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ३७.१ ओभरमा १६८ रनमा अलआउट भएको थियो ।
नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे पनि अरु ब्याटर चल्न सकेनन् ।
कप्तान रोहित पौडेलसहित चार ब्याटरले खाता खोल्न सकेनन् भने ६ ब्याटरले दोहोरो अंकमा रन बनाएनन् ।
६४ बलमा ८ चौका र १ छक्का प्रहार गरेका आसिफले ५८ रन जोडे ।
अर्का ओपनर कुशल भुर्तेलले १८ रन जोडे । उनले आसिफसँग ३८ रनको ओपनिङ साझेदारी गरे ।
उनी सातौं ओभरमा बर्नाल्ड स्कोल्जको एलबिडब्लूको धरापमा परेका थिए ।
सोहि ओभरमा अनिल साह र अर्को ओभरमा देव खनाल शून्यमा आउट भएपछि नेपाल सुरुमै दबाबमा परेको थियो ।
नेपालले आठ ओभरमा महत्वपूर्ण तीन विकेट गुमाउँदा ४३ रन जोडेको थियो ।
खेलमा कप्तान रोहित पौडेल पनि चल्न सकेनन् । २४ ओभरमा आउट भएका रोहित ९ बल खेल्दा शून्यमा आउट भए ।
त्यसपछि कुशल मल्लले २६ रन जोड्दा नेपालको रन केही बढेको थियो ।
दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी ३४औं ओभरको चार बलको अन्तरमा आउट भए ।
दीपेन्द्र सो ओभरको दोस्रो बलमा ६ रनमा आउट हुँदा सोमपाल पाँचौ बलमा ४ रनमा आउट भए ।
३५औं ओभरमा भीम सार्की स्कोल्जबाट बोल्ड भए। उनले २६ रन बनाए ।
यस्तै करण केसीले अन्तिम विकेटको रुपमा आउट हुनुअघि १२ रन जोडे ।
बलिङमा स्कोल्जले ४ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दा ३१ रन खर्चिए । जान निकोलले पनि ४ विकेट लिए । उनले ६.१ ओभरमा ३४ रन खर्चिए ।
नेपालले फागुन १३ गते पुनः नेदरल्यान्ड्ससँग खेलेपछि सिरिज सकिनेछ ।