कोशी प्रदेश सरकार र पहिचानवादीबिच ३ बुँदे सहमति
कोशी प्रदेश सरकारी वार्ता टोली र प्रदेश १ पुनः नामकरण संघर्ष समितिबीच तीन बुँदे सहमति भएको छ।
विराटनगरस्थित होटल स्टर्न स्टारमा बुधबार भएको दुई पक्षको वार्ता टोलीले प्रदेशको पुनः नामाङ्कनको प्रक्रियालाई अगाडि बढाउन सरकार र आन्दोलनरत पक्ष दुवैले ठोस कसरत गरेर निष्कर्षको चरणमा पुर्याउन आगामी वार्ता सम्ममा पहल गर्ने सहमति भएको छ।
यस्तै सरकारको तर्फबाट यसअघिको वार्तामा भएको सहमतिको बुँदा नम्बर ३ र ४ कार्यान्वयन प्रक्रिया अगाडि बढेको प्रगति विवरण प्रस्तुत गरेको छ।
दुवै पक्षबाट सकारात्मक समीक्षा गर्दै फाल्गुन मसान्तभित्र कार्यान्वयन गर्ने र पहिचानको आन्दोलनको क्रममा लागेका मुद्दाहरु फिर्ता लिने सम्बन्धमा विभिन्न अदालतहरुमा विचाराधीन मुद्दाहरुको विवरण र घाइतेहरुको उपचार खर्चको विवरण संकलन गरी पेस गर्न सरकार पक्षबाट २ जना र आन्दोलनरत पक्षबाट २ जना रहने गरी एक कार्यदल गठन गर्ने सहमति भएको छ।
यसअघिको वार्तामा दुई पक्षबिच ५ बुँदे सहमति भएको थियो ।