‘रङ्गेली’ मा ‘विजय’ बनेका दयाहाङ भन्छन्- ‘समाजमा विजय पात्र हुनुहुँदैन’
काठमाडौँ । अभिनेता दयाहाङ राई सन् २०१३ मा रिलिज चलचित्र ‘छड्के’ पछि यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’मा ‘ग्याङस्टार’ चरित्रमा देखिँदै छन् । दयाहाङको बुझाइमा ‘छड्के’ र ‘रङ्गेली’को ग्याङस्टार चरित्रको उठान भेगीय हिसाबले केही फरक छ । दयाहाङ ‘रङ्गेली’मा ‘विजय’ पात्रको भूमिकामा छन् ।
‘मैले अहिलेसम्म गरिरहेको चरित्रहरू चाहिँ प्राय ‘ग्रे’ चरित्र छन् । ती चरित्रमा नेगेटिभ र पोजेटिभ दुवै कला छ । ‘रङ्गेली’को चरित्रलाई पनि ‘ग्रे’ चरित्र मान्न सकिन्छ, तर आम मानिसको आम सोचाइबाट हेर्दा यसमा ‘डार्क’ चरित्र नै देखिन्छ । चलचित्रमा विजयभित्र रहेका मानवता र अनुभूतिका कुरा छ,’ दयाहाङ भन्छन् ।
दयाहाङ ‘रङ्गेली’लाई सूक्ष्म तरिकाले हेरिरहँदा भोलिका दिनमा हरेक मान्छेसँग कुराकानी गर्दा ‘विजय’ जस्तो मान्छे बाहिर निस्किन्छ कि भन्नेमा ढुक्क छन् ।
‘विजय जस्तो मान्छे निस्कियो भने हामीलाई नै घात हुन्छ कि भन्ने अनुभूति गराउँछ जस्तो लाग्छ । अरू चलचित्रमा मेरो चरित्रले समाजका एकदमै सामान्य मान्छेहरूको जीवनलाई उठान गरेको छ । रङ्गेलीमा पनि सामान्य मान्छे कसरी असामान्य हुँदै जान्छ भन्ने कुरा देखाउँछ,’ दयाहाङले भने ।
दयाहाङका अनुसार ‘रङ्गेली’मा दर्शकले उनको चरित्रको यात्रालाई बाल्यकालदेखि आजको दिनसम्म अर्थात् चलचित्रको कथा सकिन्जेलसम्म हेर्न पाउँछन् । ‘मेरो चरित्र हेरिरहँदा दर्शकले हाम्रो समाजमा देखिरहेका पात्रहरू अथवा यही जीवन बाँचिरहेका, जसले आफूलाई सहज गर्न सकेका छैनन् जस्तालाई चित्रण गर्नेछन् । जस्तो कि मेरो चरित्रलाई सामान्य भएर बाँच्न सहज छैन । किन छैन भन्ने चलचित्र हेरेर थाहा पाउनुहुनेछ । ऊ आफूलाई नै कहीँ कतै खोजिरहेको छ । आफू स्थापित हुन अथवा सहज जीवन बाँच्न कोसिस गरिरहेको हुन्छ,’ दयाहाङ आफ्नो चरित्रबारे भन्छन् ।
दयाहाङको बुझाइमा ‘विजय’ चरित्र भित्र कहीँ न कहीँ बिसाउने ठाउँ पायो भने उसले सारा चिज बिसाउने इच्छा हुन्छ । ‘मेरो लागि यो चाखलाग्दो यात्रा थियो । किनभने विजयका लागि एउटा चुनौतीमा गएर उसको जीवनको यात्रा सकिएको छ ।’ दयाहाङ भन्छन् ।
दयाहाङका लागि ‘रङ्गेली’ को विजय चरित्र आफैँमा चाख लाग्दो चरित्र पनि रहेछ । ‘विजयले पाउने साथीहरूको साथ, आफूभन्दा अग्रजहरूले दिएको माया, प्रेमिकाले दिएको साथ चाख लाग्दो कुरा हो । तर त्यति हुँदाहुँदै पनि वरपरकाले उसका कमजोरीलाई हतियार बनाइरहेका हुन्छन् । जसले हतियार बनाउन खोज्छ, उसको लागि त्यो कसरी फर्केर आउँछ भन्ने कुरा चाहिँ मलाई अर्को सबैभन्दा चाखलाग्दो लाग्यो । कसैलाई पनि हीन भावले हेर्नु हुँदैन भन्ने सन्देश पनि चाखलाग्दो छ । त्यो चरित्र निभाइरहँदा पनि आफूलाई महसुस गरिरहेको थिएँ’, उनी भन्छन् ।
दयाहाङ विजयको चरित्र भित्र इमानदारिता देख्छन् । ‘ऊ आफ्नो जीवनमा इमानदार साथ भएर हिँड्ने प्रयास पनि गरिरहेको हुन्छ । जब पावर र पैसाको कुरा आउँछ अर्थात् उसलाई पनि जीवनको अलिकति माथि पुग्न मन लाग्छ । किनकि त्यो मान्छेको स्वभाव नै हो । त्यो खोज्दा चाहिँ उसको आफ्नो जीवन कठिन बन्छ । त्यो बेला उसलाई वरपरकाले प्रयोग गरिरहेकै हुन्छन् । विजयको मनोविज्ञान भित्रको चापको यात्रा यसमा हेर्न पाइन्छ’, उनी भन्छन् ।
दयाहाङको बुझाइमा कोही मान्छे पनि समाजमा खल पात्र हुँदैनन् । उनीहरू समाजभित्र फरक भएकैले पनि ती पात्रलाई समाजले ‘इग्नोर’ गर्ने गरेको उनको बुझाई छ । ‘हरेक मान्छेमा फरक पाटो हुन्छ । म यसरी यो बाटो पुग्छु भनेर जो मान्छे यात्रा गरिरहेको हुन्छ । समाज अगाडी दौडिरहँदा कहिँकतै त्यस्ता मान्छे छुट्नु हुन्नँ भन्ने ख्याल राख्नुपर्छ । उसको आवश्यकता सुन्नुपर्छ । उसको पनि समस्या समाधान गर्नेतिर समाज लाग्नुपर्छ’, दयाहाङ भन्छन् ।
‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।
चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।