तीन वर्षीय छोरीसहित काठमाडौँमा भौँतारिँदै मिटरब्याज पीडित ‘इन्द्रा’

मेरो मस्तिष्कमा धमिलो हुँदै गएको ‘मिटरब्याज’ शब्द केही दिनदेखि पुनः स्मरणमा आए । जुनदिन देशभरका मिटरब्याजी, लघुवित्त पीडितहरू पदयात्रा (न्याय मार्च) गर्दै काठमाडौँ आइपुगे ।

हामी उनै मिटरब्याजी, लघुवित्त पीडितहरूको कथा खोज्न काठमाडौँको भृकुटीमण्डप पुग्यौँ । करिब साढे बाह्र बजे । त्यसबेला उनीहरूको खाना खाने समय भएको रहेछ । त्यहाँ उनीहरू कागजको थाल समातेर खाना पर्खिरहेका थिए । मलाई लाग्यो उनीहरू त्यहाँ खाना मात्र पर्खिरहेका छैनन् । न्याय मागी पर्खिरहेका छन् । करिब डेढ २ सय मानिसहरू चिसो धुलोमा बसेर कागजको थाल समाउँदै सरकारसँग न्याय मागिरहेका छन् ।

वरपर हेरे, पलेटी कसेर बसेका केही महिलाहरू खाना ढिलो भयो भनेर आफ्नै भाषा (मधेसी) मा गनगन गरिरहेका थिए । ती मध्ये एक अधबैँसे महिला, जो साडीकै घुम्टो हालेर मधेसी भेसमा थिइन् । उनी एकदमै रिसाएझैँ देखिन्थिन् । त्यत्तिकैमा मन्द हावा चल्यो । उनको थाल उडेर केही परसम्म पुग्यो । त्यसबेला उनको अनुहारको भाव ‘थाल’ उडेको जस्तो मात्र थिएन । सर्वस्व लुटिएजस्तै थियो । मैले दुई/चार कदम हिँडेर उनको सर्वस्व टिपेर उनलाई नै दिए ।

त्यति धेरै संख्यामा मिटरब्याजी र लघुवित्तका पीडितहरूलाई देखेर म दोधारमा परे । आखिर कसका कथा लेखूँ । कसका नलेखूँ । कसका पीडा सुनूँ । कसका नसुनूँ । अलमलमा थिए । त्यसबेला मेरो आँखा एकजना आमामा पर्‍यो । जो आफ्नो ३ वर्षे छोरीलाई साथमा लिएर खानाकै प्रतीक्षामा देखिन्थिन् ।

नजिकै गएर सोधे ।
‘आमा, हजुरको नाम के हो ?’
ती आमाले केही सङ्कोचको आवाजमा भनिन् ‘इन्द्रा विक ।’
‘उसको नाम चैँ के हो ?’ मधुरो रातो जामा लगाएकी सानी बालिकालाई देखाउँदै सोधे ।
‘बिनिसा विक’ उनले भनिन् ।
‘सानो नानीलाई पनि लिएर आउनुभएको ?’ मैले सोधे ।
‘अ..के गर्नू नानी, घरमा कोही छैनन् । ताल्चा लगाएर आएका छौँ ।’

त्यसपछि उनले आफ्नो बेथा सुनाउन थालिन् ।

उनी बर्दियाकी इन्द्रा विक । उनले २ कक्षासम्म पढेकी रहिछन् । हल्का लेखपढ गर्न आउँछ रे । उनले भनेकी । अहिले उनी ४५ वर्षकी भइन् ।
उनी १७ वर्ष हुँदा अरूले फकाएर बिहे गरिदिएका अरे । (थोरै लजाउँदै उनले भनिन् ।)

तर विवाह पश्चात् उनको श्रीमानको स्वास्थ्यमा समस्या देखियो । अस्पतालमा उपचार गराउँदा फोक्सोको समस्या रहेछ । उपचारका लागि धेरै खर्च लाग्ने ।
अब उनको आवाज केही मधुरो हुँदै गयो ।

उनले भनिन् ‘पहिला हल्का हल्का बिमारी भयो । पछि धेरै समस्या भयो ।’

उनका अनुसार ६ वर्ष अगाडि ‘हाम्रो संस्था राम्रो छ’ भनेर मानिसहरूले फकाई फुल्याई उनीहरूलाई ऋण दिलाएका थिए । उनका श्रीमानले पनि आफ्नो उपचारका लागि भनेर १ बिगाहा जमिन राखेर ८ लाख ऋण लिए । तरपनि उनको उपचार भएन । उनी बाच्न सकेनन् । उनी नबाचेको पनि ३ वर्ष भइसकेछ ।

उनले भनिन् ‘मेरो बुराले ऋण गर्नुभएको हो । ६ वर्ष अगाडि । फोक्सोमा समस्या भएर । जगा पनि राखियो । तर उपचार गर्न पनि पाइएन । उहाँ बित्नु भयो ।’

त्यतिन्जेल सम्म उनको थालमा भात, दाल र काउलीको तरकारी आइसकेको थियो । उनी मसँग कुराकानी गर्दै भात चपाउँदै थिइन् । तर श्रीमानको मृत्युको कुराले उनी एकछिन रोकिइन् । अनि रुन थालिन् । थालमा भएको भातले उनलाई हेरिरह्यो । मैले हेरिरहे । बालिकाले पनि पुलुक्क हेरिन् ।

सायद उनलाई श्रीमानको मृत्युको कुरागर्दा नराम्रो लागेको हुनुपर्छ । त्यसो त कति मिडियाहरू आएर उनको घाउ कोट्याइ रहन्छन् । सोधी रहन्छन् । उनी त्यसरी नै गहभरि आँसु पारेर आफ्नो कथा भन्न बाध्य छिन् । बेथा सुनाउन बाध्य छिन् । प्रत्येक पल्ट उनको श्रीमानबारे गरेको प्रश्नले उनी कति रुन्छिन् होला । उनलाई त्यसरी नै दुखिरहन्छ होला । त्यो दुखाई सरकारले किन महसुस गरेको छैन ?, उनको रुवाई सरकारले किन सुनेको छैन ?

यस्तै यस्तै प्रश्नले म पनि भावह्वील हुन पुगेछु । उनका खोपिल्टा परेका आँखाबाट आशुहरू बग्न थाले । एकछिन हामी रोकियौँ ।

इन्द्राले अहिले सबैजगा जमिन साहुको नाममा भएको बताइन् । श्रीमानको मृत्यु भएपछि उनले बुढा सासू-ससुरालाई पनि हेर्थिन् । तर धेरै बिरामी हुनथाल्नुभएपछि उहाँहरूको जेठी छोरीले हेर्न थालेको उनले बताइन् ।

बिस्तारै उनले खाना चपाउन सुरु गरिन् ।

उनको परिवारमा अहिले दुई जना मात्र छन् । उनी स्वयम र उनको ३ वर्षीय छोरी । हुन त उनका दुई छोराहरू पनि छन् । तर एकजना इन्डियामा बसेर बेखबर छन् भने अर्का आफ्नै देशमा सम्पर्क विहीन । उनका छोराहरूले उनलाई नहेरेको उनी बताउँछन् ।

उनले भनिन् ‘दुईजना छोरा छ । एउटा इन्डियामा छन् । एकजना गाउँमै भएपनि सम्पर्कमा छैन । एउटाले कमाए पनि हेर्दैन ।’

‘खाना काच्चै छ ।’ उनले म तिर इङ्गित गर्दै भनिन् ।

‘धेरैलाई पकाउँदा काच्चै भएछ है ।’ सान्त्वना दिन खोजे ।

‘घरमा गाउँवस्तु खेतीपाती होला नि ?’ म विषयवस्तु तिर नै लागे ।

उनले घरमा गाईवस्तु केही नपालेको बताइन् । उनी आफ्ना घर जग्गा फिर्ता माग्न काठमाडौँ आएको ३ महिना बितिसकेछ । घरमा ताला लगाएर आएको उनले बताइन् ।

उनको सुँक्क सुँक्क अझै रोकिएको थिएन । उनीसँगै छन् उनको ३ वर्षीय छोरी । जो ३ महिनादेखि आमासँगै काठमाडौँमा भौँतारिएकी छ । उनी भन्छिन् ‘आमा मासु खानि भन्छ यसले । म सँग पैसा छैन ।’

‘आउँदा खेरि अलिअलि पैसा बोकेर आउनुभएको थियो कि र?’ साधे ।

‘एक सुक्का थिएन नानी आउँदा खेरि । गाउँबाट एक-एक किलो चामल चन्दा उठाएर आएको हो ।’

उनले खेतमा मेलापाता गरेर दिनमा ५ सय कमाउँछिन् । तर बच्चा सानै भएकाले कसैले काम नलगाउने उनले बताइन् ।

‘अरुबेला खेती किसान गर्थे । अरूको खेतालो जान्थे । यो बच्चाले काम गर्न पनि दिँदैन । अरूले काम पनि दिँदैनन् ।’

उनले एकदमै मानसिक समस्या खेप्नु परिरहेको बताइन् । उनको रुन्चे आवाजमा भनिन् ‘हेर नानी यस्तोमा खान पर्‍यो क्या । तपाईँहरूले यस्तो भोग्न नपरोस् ।’

उनको सुँक्क सुँक्क अझै रोकिएको छैन ।

फेरी मन्द हावा चल्यो । रुखबाट पातहरू झरे । केही फुस्स धुलो आएर उनको भागमा पर्‍यो ।
‘आमा खानामा धुलो पर्‍यो ।’ मैले भने ।

उनले रुन्चे हाँसो हाँस्दै भनिन् ‘परोस्, हामीले न्याय पायौँ भने हुन्छ ।’

यो हो काठमाडौँमा न्यायका लागि भौँतारी रहेकी इन्द्राको कथा । त्यहाँ उनीजस्ता मिटरब्याज पीडित कयौँ इन्द्र र इन्द्राहरू आ-आफ्नो बेथा पोको पारेर बसेका छन् । उनीहरू यसपटक न्याय नपाई घर नफर्कने बताउँछन् । उनीहरूले आफ्नो साथमा झन्डा लिएर आएका छन् ।

मैले उनीहरूलाई सोधे ‘न्याय नपाए के गर्नुहुन्छ ?’

एक वृद्ध किसानले जवाफ दिए ‘मर्छु । मसँग विकल्प छैन । सबै घर कब्जा गर्‍यो । अहिले भाडामा बस्दै आएका छौँ । समाजका मानिसहरूले तिमीहरू सुकुम्वासी भयौँ भन्छन् ।’

अर्काले भने ‘सरकार हामीलाई न्याय दिनुस् । हामी चाडै आफ्नो घर, परिवार र समाजमा फर्कन चाहन्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *