परराष्ट्रमन्त्रीलाई समितिसँग बेखबर नहुन एमालेको ध्यानाकर्षण
काठमाडौँ । नेकपा एमालेकी सांसद सुनिता बरालले अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र मन्त्रालयसँगका विषयमा परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएकी छन् ।
आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले सम्बन्धित विषयहरूमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद समितिसँग बेखबर हुने गरेको भन्दै आलोचना गरिन् । उनले धेरै सम्झौता, धेरै कार्यक्रम, धेरै अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र मन्त्रालयसँगका विषयहरू भएका सञ्चारमाध्यमबाट सुन्ने तर समितिसँग बेखबर हुने कुरालाई धेरै निरन्तरता नदिन मन्त्री साउदलाई सचेत गराइन् । उनले सूचनाको ग्यापले समिति र सरकारकै जबाफदेहिता कमजोर हुने बताइन ।
उनले भनिन् ‘धेरै सम्झौता, धेरै कार्यक्रम, धेरै अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र मन्त्रालयसँगका विषयहरू भएका सञ्चारमाध्यमबाट सुन्ने तर समितिसँग बेखबर हुने कुरालाई धेरै निरन्तरता नदिनु हुन अनुरोध गर्दछु । सचिव पनि आउनुभएको छ । मन्त्रीज्यूलाई कम्तीमा हामीले समितिलाई प्रभावकारी बनाउन सके पदीय गरिमा पनि थप गर्विला बनाउन सक्छौँ । त्यो कुरा मनन गर्नुभए हुन्थ्यो । सूचनाको ग्यापले यो सदस्यको रुपमा जबाफदेहिता कमजोर हुँदा मेरो नभई समिति र समितिको मात्र नभई मन्त्रीज्यूकै प्रभावकारी हुन कठिन छ ।’
उनले राष्ट्रियता र राष्ट्रको स्वाभिमानका विषयमा सबैले गम्भीर भएर सोच्नुपर्ने बताइन् ।