साफ यू-१६ महिला फुटबल : जित्नैपर्ने खेलमा भारतको सामना गर्दै नेपाल
काठमाडौँ । जारी साफ यू-१६ महिला फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्दै छ । ललितपुरस्थित च्यासल मैदानमा हुने यो खेल अपराह्न ३ बजेदेखि सुरु हुने छ ।
जारी प्रतियोगितामा बंगालदेशले खेलेका २ खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै भारतले २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल पनि २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी भुटानले भने २ खेलमा दुवै खेलमा हार बेहोरेर अंकविहिन रहेको छ ।
अब नेपालले फाइनलमा पुग्न भारतविरुद्धको यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ । यस खेलमा जित बाहेक अन्य नतिजाले नेपाल प्रतियोगिताबाट बाहिर हुने छ ।
नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २-० गोलले हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो । त्यस्तै भारतले पहिलो खेलमा भुटानलाई ७-० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-१ ले हार बेहोरेको थियो ।
प्रतियोगितामा अब शुक्रबार बंगलादेश र भुटान खेल्ने छन् भने त्यसपछि शीर्ष स्थानमा रहेका दुई देशले आइतबार फाइनल खेल्ने छन् ।