गरिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् ।
बुधवार बसेको सञ्चालक समितिको ३०४औं बैठकले माधव प्रसाद उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
उपाध्याय यसअघि गरिमा विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।
समितिले उनलाई मिति २०८१ वैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
व्यवस्थापनमा स्नातकोत्तर गरेका माधव प्रसाद उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहेका थिए । साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । उनी बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन/प्राध्यापन पेसामा संलग्न थिए ।
यस विकास बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त हुने भएसँगै २०८१ वैशाख १ गतेदेखि रिक्त हुने प्रमुख कार्यकारी अधिकृत पदमा नायब प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।
साथै, सोही बैठकले बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई मिति २०८० चैत्र १५ गतेदेखि लागू हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा ATM मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आइरहेको छ ।