दुई युवालाई भिडाएर फाइदा लिने दाउमा कांग्रेस !
काठमाडौं । इलाम-२ मा आगामी वैशाख १५ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमार्फत निर्वाचित नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
दलहरूले आ-आफ्ना उम्मेदवार घोषणा गरेर मत माग्दै घरदैलो अभियानमा जुटिसकेका छन् । नेकपा एमालेले स्वर्गीय नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । रास्वपाले पनि पूर्वपत्रकार तथा माओवादी निकट मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेर चुनावी मैदानमा खटाइसकेको छ ।
यता, देशको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले भने डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई सिफारिस गरेको हो । खड्का यसअघिको प्रतिनिधिसभा निर्वाचनमा स्वर्गीय सुवास नेम्वाङसँग पराजित भएका थिए । उनी नेम्वाङसँग १ सय १४ मतले पराजित भएका थिए । उनी इलाम कांग्रेसका जिल्ला सभापति समेत हुन् ।
वि.सं २०५६ यता सबै निर्वाचन जित्दै आएको एमाले र अघिल्लो निर्वाचनमा १ सय १४ मतको झिनो अन्तरले पराजित कांग्रेसले उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् ।
एमालेबाट उम्मेदवार बनेका सुहाङ नेम्वाङ र रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बू सत्ता गठबन्धनमा आबद्ध दलका उम्मेदवार हुन् । सुहाङलाई माओवादीको र समाजवादीको भित्री साथ छ तर पूर्व माओवादी तथा रास्वपाबाट उम्मेदवार बनेका मिलनले भोट काट्ने आङ्कलन गरिएको छ । जसको फाइदा कांग्रेसले लिने देखिन्छ ।
राजनीतिक प्रतिष्ठाको लडाइँका रूपमा रहेको इलाममा यो उपनिर्वाचनले अन्य धेरै कुराको प्रभाव पार्ने छ । यति मात्रै होइन, कोशीमा पछिल्लो समय पहिचानको मुद्दा बलियो रूपमा उठ्दै आएको छ । जसको कारण पनि उपनिर्वाचनको परिणाम सोचेभन्दा फरक पक्कै हुनेछ ।
हुन त, एमाले र रास्वपाका दुवै उम्मेदवार एउटै समुदायमा छन् । तर जातीय मुद्दा पेचिलो बनेका बेला दुवै जना एउटै समुदायबाट भएको कारण मत बाँडिने पक्का छ । जसको फाइदा कांग्रेसलाई हुन सक्छ ।
हुन त, एमालेले युवा उम्मेदवार सुहाङलाई चुनावी मैदानमा उतारेको छ । सांगठानिकरुपमा सुहाङ बलिया पनि छन्, एमालेको विरासत पनि अब्बल नै रहेको छ । तर, उनी आफै भने सो भूगोलमा भिजेका उम्मेदवार भने होइनन् । सुहाङलाई सहानुभूतिको मत र सङ्गठनको मत त पाइनेछ तर यतिले मात्रै उनलाई चुनाव जित्न पर्याप्त नहुन सक्छ ।
यता, रास्वपाले उम्मेदवार बनाएका मिलनले यसअघि नै स्वतन्त्र उम्मेदवार दिइसेका उम्मेदवार हुन् । मिलन पहिचानवादीहरूबाट आफूले मत पाउनेमा विश्वस्त छन् । उनी पहिचानको मुद्दा लिएर जनतामाझ गएका छन् । रास्वपाबाट उम्मेदवार बन्दा उनी थप बलियो मनस्थितिमा छन् । उनलाई यतिले मात्रै चुनाव जित्न सहज नुहुने देखिन्छ । किन भने उनकै समुदायका र उनी जस्तै अर्का युवा उम्मेदवार छन् सुहाङ । सुहाङले उनले पाउने भनिएको मत काट्ने देखिन्छ । जसको फाइदा कांग्रेसलाई हुनेछ ।
सत्ता गठबन्धनमा रहेका पार्टीहरूबीच एक आपसमा भिडन्त हुने पक्का भएपछि दुवै जनाको मत बाँडिने सम्भावना बलियो छ । यसले गर्दा कांग्रेसलाई उपलब्धि हुने सम्भावना बलियो रहेको राजनीतिक विज्ञहरू बताउँछन् । कांग्रेस उम्मेदवार आम निर्वाचनमा १ सय १४ मतले मात्र पराजित भएका थिए । जसले पनि कांग्रेस उपनिर्वाचनमा जित्ने मनसायले मैदानमा उत्रिएको छ ।
७९ को समानुपातिक परिणाम
वि.सं २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा इलाम-२ को मतदाता एक लाख १५ हजार तीन सय ४२ रहेकोमा ६९ हजार चार सय ८१ मत खसेको थियो । खसेको मतमध्ये ६६ हजार आठ सय ८५ मत सदर र दुई हजार पाँच सय ९६ मत बदर भएको थियो ।
सदर मतमध्ये सबैभन्दा धेरै एमालेले २६ हजार पाँच सय ६२ मत पाएको थियो भने नेपाली कांग्रेसले २२ हजार तीन सय ३३, मत प्राप्त गरेको थियो । साथै माओवादी केन्द्रले पाँच हजार एक सय ५३, राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार छ सय ६८, मङ्गोल नेशनल अर्गनाईजेशनले एक हजार छ सय ६१, राष्ट्रिय जनमुक्ति पार्टीले एक हजार चार सय १३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक हजार तीन सय २९, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार एक सय ९१ र जनता समाजवादी पार्टीले नौ सय छ मत प्राप्त गरेका थिए ।
उपनिर्वाचनका लागि इलामको मतदाता दुई लाख २७ हजार १५ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मतदातामा महिला एक लाख नौ हजार नौ सय ३४, पुरुष एक लाख १७ हजार ७९ र अन्य दुई जना छन् ।