सबै कालखण्डका भ्रष्टाचारको छानबिन गर्न उच्चस्तरीय समिति बनाऔँ : गृहमन्त्री (भिडिओ)
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी समायोजनलाई मूर्त रूप दिनका लागि छलफल तीव्र पारिएको बताएका छन् ।
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले प्रहरी समायोजनलाई पूर्णता प्रदान गर्नका लागि गम्भीर भएर छलफललाई तीव्र पारिएको बताएका हुन् ।
पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी समायोजन छिट्टै गर्ने अभिव्यक्ति दिइरहेको समयमा गृहमन्त्री लामिछानेले पनि प्रहरी समायोजनले पूर्णता पाउन केही समय लागे पनि त्रुटि बिना समायोजन गरिने प्रतिबद्धता व्यक्त गरे ।
प्रहरी समायोजनकै विषयलाई लिएर प्रदेशका गृहमन्त्रीहरूसँग दुई चरणको छलफल समेत भइसकेको बताए ।
‘प्रहरी समायोजनको ड्राफ्टमा काम भएको छ । मैले पदभार सम्हालेपछि त्यसलाई छलफलको विषय पनि हामीले बनाएका थियौँ’उनले भने,‘यसमा हामीले मन्त्रालयमा वृहत् छलफल पनि गरेका छौँ । गत हप्ता पनि छलफल गरेका थियौँ । त्यसमा केही काम गर्नुपर्ने ठाउँहरू अवश्य रहेका छन् ।’
यद्यपि यकिन गरेर कहिले प्रहरी समायोजन कहिले हुन्छ ? भन्ने विषयमा भन्न नसकिने उनको भनाई थियो ।
गृहमन्त्री लामिछानेले आरोप लाग्ने र उजुरी पर्ने बित्तिकै सांसद एवं मन्त्री सबैले राजीनामा दिने गरी सर्वदलीय सहमति गर्नुपर्ने बताए ।
उनले नेपाली काँग्रेसले राजीनामा माग गरेको र संसद अवरोध गरिरहेकोबारे सञ्चारकर्मीको प्रश्नमा काँग्रेसको माग भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले एक कदम अघि बढेर उजुरी पर्ने बित्तिकै सांसद, मन्त्री सबैले राजीनामा दिने गरी सर्वदलीय सहमति गर्न प्रस्ताव गरिसकेको बताए ।
‘हामीले स्पष्ट भनिसक्यौँ, हामीले आरोप लाग्ने बित्तिकै, उजुरी पर्ने बित्तिकै सांसद, मन्त्री सबैले राजीनामा दिने गरी सर्वदलीय सहमति गरौँ भनेर एक स्टेप माथि गएर भनिसकेका छौँ ’ उनले भने,‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्न स्वतन्त्र, उच्चस्तरीय समिति वा आयोग गठन गरौँ भनेर स्पष्ट भनिसकेका छौँ ।’
कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्न स्वतन्त्र, उच्चस्तरीय समिति वा आयोग गठन गर्नुपर्ने आफूहरूको माग रहेको बताए ।