यातायात व्यवसायी सिण्डिकेटको पक्षमा छैन : अध्यक्ष स्वाँर
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले महासंघ कुनैपनि यातायातको सिण्डिकेटको पक्षमा नभएको बताएका छन् ।
महासंघका अध्यक्ष स्वाँरले मंगलवार यस्तो बताएका हुन् । उनले पछिल्लो समय राष्ट्रिय सञ्चार माध्यमहरूले सर्वोच्च अदालतले सिण्डिकेट ब्युँताएको भन्ने भ्रम फैल्याएको दाबी गरे । उनले यातायात व्यवसायी महासंघ सिण्डिकेटको पक्षमा नभएर सुधार र प्रविधियुक्त सार्वजनिक यातायातको पक्षमा रहेको बताए । उनले यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदनले दिएको सुझाव कार्यान्वयनमा सरकारले दिएको तीव्रतालाई स्वागत गर्ने बताए ।
उनले कार्यदलले दिएको सुझावको आधारमा यातायात मन्त्रालयले यातायात सेवासँग सम्बन्धित संघसंस्था र समितिलाई प्रतिबन्ध फुकाउन सिफारिस गरिएको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको बताए । उनले यातायात व्यवसायी राष्ट्रिय महासंघ सहित अन्य प्रतिनिधिहरू गएर गृह सचिवलाई पत्र बुझाएको बताए । अध्यक्ष स्वाँरले सरकारले यातायातमा भएका अन्योलतालाई चिर्दै व्यवस्थित, नागरिक उन्मुख सार्वजनिक यातायात र प्रविधि युक्त बनाउनु पर्नेमा जोड दिए । उनले प्रतिवेदनमा आधारित यातायात क्षेत्रका सरोकारवालाको लागि यातायात प्राधिकरण गठन गर्नुको विकल्प नभएको बताए ।
उनले भने ‘सरकारले यातायातका संघ र समिति खारेज गर्ने निर्णयलाई सर्वोच्च अदालतले चैत २८ गते संघसंस्था र समितिलाई खारेज गर्न नमिल्ने गरेर निर्णय गरेको छ । यातायात सुधार आयोगको प्रतिवेदन सरकारलाई बुझाएपछि कार्यान्वयन गर्ने पक्षमा सरकार तिब्ररुपमा अघि बढेको पाएका छौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात सेवासँग सम्बन्धित संघसंस्था र समितिलाई प्रतिबन्ध फुकाउन सिफारिस गरिएको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघसहित अन्य प्रतिनिधिहरू गएर गृहसचिवलाई पत्र बुझाएका छौं । सरकारले यी विषयलाई तत्काल यातायातमा भएको अन्योलतालाई चिर्दै व्यवस्थित नागरिक उन्मुख सार्वजनिक यातायात र प्रविधियुक्त बनाउनतिर अग्रसर हुनुपर्छ । प्रतिवेदनमा आधारित यातायात क्षेत्रका सरोकारवालाको लागि यातायात प्राधिकरण गठन गर्नुपर्छ । नेपाल यातायात व्यवसायी महासंघ कुनैपनि यातायातमा सिण्डिकेटको पक्षमा छैन । नागरिक उन्मुख र लगानीकर्ताको लगानी र श्रमिकको सम्मान हुने गरेर सार्वजनिक यातायातलाई व्यवस्थापन गर्न जरुरी छ । १० खर्बको लगानीलाई कसरी संरक्षण गर्नेमा ध्यान केन्द्रित छ । सिण्डिकेटको नाममा यातायात व्यवसायीहरूलाई उक्साउने हो भने क्षेत्र नै तहसनहस हुन्छ ।’
उनले यातायात व्यवसायी महासंघ कुनैपनि यातायातमा सिण्डिकेट भन्दा पनि नागरिक उन्मुख र लगानीकर्ताको लगानी र श्रमिकको सम्मान हुने गरेर सार्वजनिक यातायातलाई व्यवस्थापन गर्न जरुरी रहेको बताए । उनले १० खर्बको लगानीलाई कसरी संरक्षण गर्नेमा ध्यान केन्द्रित रहेको बताए ।