वन्यजन्तु सप्ताहः सामुदायिक वनमा चरा अवलोकन

भरतपुर । २९ औँ वन्यजन्तु सप्ताहअन्तर्गत सोमबार चितवनमा चरा अवलोकन गरिएको छ । सामुदायिक वनमा चराको अवस्था पत्ता लगाउन सौराहाको जनकौली मध्यवर्ती सामुदायिक वनमा चरा अवलोकन गरिएको हो ।

चराको अवस्था अध्ययन गर्नाका साथै संरक्षणकर्मीहरूलाई चरा संरक्षणमा भएका प्रयास र प्रजातिको बारेका जानकारी दिइएको वर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष वासु विँडारीले बताए । उनका अनुसार यहाँका सामुदायिक वनमा पनि चराको राम्रो बासस्थान भएका क्षेत्र छन् । चितवनमा रहेका छ सय ५५ प्रजातिमध्ये ५० प्रतिशत प्रजाति जनकौली सामुदायिक वनमा रहेका विँडारीले जानकारी दिए ।

ओझेलमा रहेका जनकौली वनको प्रचारप्रसार र पर्यापर्यटनको विकासका लागि दबाब सृजना गर्न वन्यजन्तु सप्ताहको अवसरमा पारेर चरा अवलोकन कार्यक्रम राखिएको वर्ड एजुकेसन सोसाइटीका अध्यक्ष टीका गिरीले बताइन् ।

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समूहका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले सौराहाको काखैमा रहेको जनकौली वनमा पर्यापर्यटनको विकास गर्न नसकिएकामा चिन्ता व्यक्त गरे । चराको राम्रो बासस्थान रहेको जनकौलीमा पर्यटक आकर्षित गर्ने गतिविधि आवश्यक रहेको उनले बताए ।

घिमिरेले पर्यटकलाई डुङ्गा सयर गराइरहेको जनकौलीमा निकट भविष्यमा जीप सफारी सञ्चालन गरी उपभोक्ताको जीविकोपार्जनको आधार तयार गरिने उल्लेख गरे ।

जनकौली वनका अध्यक्ष जोगेन्द्र महतोले यस वनमा चराको राम्रो बासस्थान रहेकाले यसको संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्ने बताए । अन्य देशबाट आउने चराहरूले जनकौलीमै बच्चा जन्माएर फर्किने गरेका उनको भनाइ छ ।

जनकौली मध्यवर्ती सामुदायिक वनको आयोजना तथा चितवन राष्ट्रिय निकुञ्ज, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति, वर्ड एजुकेसन सोसाइटी सौराहा र नेचर गाइड एसोसिएसन सौराहाको सहकार्यमा आवश्यक उपकरणको प्रयोग गरी चरा अवलोकन गरिएको थियो ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज वन्यजन्तु संरक्षणमूलक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, वन्यजन्तु र मानिसबीचको सहअस्तित्वसम्बन्धी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, भोलि डुङ्गा सयर, वैशाख ६ गते वन, वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना र्‍याली गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *