देउवाले थापेको ढोक्सामा माधवको बार्गेनिङ !
काठमाडौं । २१ फागुनमा बनेको नयाँ गठबन्धनको सरकार संकटमा परेको छ । प्रदेश सरकार गठनमा दलहरूका आ-आफ्नै बार्गेनिङले केन्द्रमा समेत गठबन्धन धरमराएको छ ।
एकातिर कांग्रेसको सरकार ढाल्ने रणनीति र अर्कोतर्फ गठबन्धन दलकै आपसी झगडाले गठबन्धनको भविष्यमाथि प्रश्न उठ्न थालेको छ । ठूला दलहरूले प्रदेश सरकारमाथि हस्तक्षेप गरेसँगै गठबन्धन सरकार ढल्ने अवस्थामा पुगेको छ । यसको एक दृश्य सुदूरपश्चिमबाट देखिएको छ । बिहीबार मात्रै मुख्यमन्त्री बनेका नेकपा एसका दीर्घ सोडारीको पद एक दिनमै संकटमा परेको छ । नागरिक उन्मुक्तिकी सांसद टीका थापाले समर्थन फिर्ता लिएपछि जसको धक्का केन्द्रीय गठबन्धनमा देखिएको छ ।
कांग्रेसले एमालेसँगको सत्ता सहकार्यमा हात फैलाइरहेको अवस्थामा गठबन्धनभित्रै कलह चुलिएपछि गठबन्धनमा संकट देखिएको हो । संसदमा १० सिट रहेको एकीकृत समाजवादीको व्यवहारप्रति सत्ता गठबन्धन सशङ्कित बनको छ । वर्तमान सत्ता गठबन्धनमा खटपट सुरु भएसँगै नेपाली कांग्रेसको दौडधुप पनि बढेको छ । गठबन्धनमै रहेको नेकपा एसको बार्गेनिङले कांग्रेसलाई नयाँ सरकार बनाउन सहज हुने देखिएको छ ।
प्रदेशबाटै विद्रोह थालेको नेकपा एसले केन्द्रसम्मै त्यसलाई लम्बाउने माधवकुमार नेपालको रणनीतिले काँग्रेसमा उत्साह छाएको छ । माधव नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भएको भेटमा समेत नयाँ समीकरणबारे छलफल भएको बताइएको छ । जसमा माधव नेपालको सकारात्मक जवाफ आएपछि देउवाले प्रदेशबाटै नयाँ समीकरणको तयारी थालेको बताइन्छ ।
कांग्रेसले थापेको ढोक्सामा माधवले साथ दिएमा बजेट अधिवेशन अगाडी नै नयाँ समीकरण बन्ने आङ्कलन गरिएको छ । माधवको प्रधानमन्त्री बन्ने चाहना र कांग्रेसको सत्ता बर्हीगमनको छट्पटाहटले नयाँ समीकरण बन्न सक्ने राजनीतिक विश्लेषक प्रेम कैदी बताउँछन् । ‘यो गठबन्धन धेरै दिन टिक्दैन, सुदूरबाट यसको आकलन भइसक्यो’, उनले भने, ‘बजेट अधिवेशन अघि नै नयाँ समीकरण बन्ने सम्भावना छ ।’
कैदीले बताए अनुसार कांग्रेसले नयाँ समीकरण बनाउन चाहे साना दलहरूको साथ अनिवार्य चाहिन्छ । कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, जनमत पार्टीको ६, लोसपाको ४ र नागरिक उन्मुक्तिको ४ सिट जोड्दा १३८ सिट हुन्छ । यो भनेको नयाँ सरकार गठनका लागि पुग्ने संख्या हो । यसबाहेक चित्रबहादुर केसी र स्वतन्त्र सांसदहरू समेत आफ्नो पक्षमा ल्याउन सकिने आँकलन कांग्रेसको छ ।
विश्लेषक कैदीको भनाई लाई बल पुग्ने गरी नै कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुने बताएका छन् । शुक्रवार पत्रकार सम्मेलन गरेर उनले अहिलेको गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिए । ‘अहिले जुन गठबन्धन बनेको छ, यो अप्राकृतिक किसिमबाट बिनेको छ । त्यहाँ एक अर्काप्रति विश्वास छैन । यो शुद्ध अवसर छोप्नका लागि बनेको गठबन्धन हो’उनले भने, ‘त्यसैले आफ्नै बोझ, अविश्वास, विरोधाभासको बिचमा यो गठबन्धन बनेको छ । त्यही बोझले नै यसको पतन हुन्छ । छोटै समयमा पतन हुने निश्चित छ ।’
यता, नेकपा एसले गठबन्धनमा फरक मत राखेको बेला सो पार्टीका नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने बताएका छन् । उनले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने आवश्यकता महसुस भएर नै नयाँ समीकरण बनेको भन्दै यो परिवर्तन नहुने स्पष्ट पारे । ‘वामपन्थीहरूको एकताबाट मुलुकमा समृद्धिका लागि कम्युनिस्टबिच एकता जरुरी छ’ उनले भने, यो आजको आवश्यकता पनि हो । यसमा कुनै दुई मत छैन ।’
उसो त, एमाले र कांग्रेसका शीर्ष नेताहरूले नयाँ समीकरणका लागि छलफल गरिरहेको चर्चा पनि राजनीतिकवृतमा छ । तर, एमालेका महासचिव शङ्कर पोखरेल भने वर्तमान गठबन्धन सरकारलाई साथ दिन तयार रहेको बताउँछन् । ‘हामी सत्ताका लागि लालायित छैनौँ । हामी यो सरकारले राम्रो काम गर्छ भने हामी यसलाई निरन्तरता दिन तयार छौ भनेर भनिराखेका छौं’उनले भने, ‘किनकि हाम्रो चिन्ता मुलुकप्रति हो, जनताप्रति हो । राष्ट्रको भविष्यप्रति हो भन्ने कुरा हामीले स्पष्ट रुपमा भन्दै आएका छौं ।’