मजदुर दिवस

मजदुर दिवसले नछोएका सुनिल, जसलाई बिदा होइन, कामले खुसी मिल्छ

आज विश्व मजदुर दिवस । सबै विद्यालय, कार्यालय, सरकारी अफिसहरू पनि बन्द छन् । बिहान अफिस आउँदा सडक, बाटो, पसलहरूमा पनि मानिसहरूको चहलपहल खास्सै देखिन् । खयर सबैलाई मजदुर दिवस लागेछ भन्ने लाग्यो । तर दुवाकोटको भित्री गल्ली हुँदै सल्लाघारी नपुग्दै केही मजदुरहरूलाई घर बनाउने काम गरिरहेको मैले देखे ।

उनीहरूलाई पटक्कै मजदुर दिवस लागेनछ क्यारे । उनीहरू सदाझैँ उही पोसाकमा देखिए । बालुवा, सिमेन्ट लागेको मैले सट, टिसर्ट, पाइन्ट र हाफ पाइन्ट । अनि घाम छेक्ने कालो क्यापटोपी । हिजो उनीहरू जस्ता थिए, आज पनि त्यस्तै छन् । नत उनीहरूको लवाई–खवाइमा परिवर्तन छ, नत जीवनस्तरमा नै । तर पनि उनीहरू यसैमा खुसी छन् । एकदमै खुसी, काम गर्न पाएकोमा, परिवार पाल्न सकेकामा ।

आज मजदुर दिवस, मजदुरहरूकै आवाज सुन्न र लेख्न भनेर म उत्सुक हुँदै उनीहरू नजिकै पुगे ।

त्यसपछि हाम्रो प्रश्न उत्तर सुरु भयो ।

उनीहरू निकोसेराबाट एकाबिहानै साइटमा (कार्यस्थल) आइपुग्दा रहेछन् । र काम गरेर बेलुकी घर फर्कँदा रहेछन् । यो उनीहरूको दैनिकी हो । तर उनीहरूको दैनिकी सधैँ एकैकिसिमको नहुँदा रहेछ ।

डकर्मी सुनिल कासुला भन्छन् ‘अहिले धेरै मजदुरहरू बेरोजगार छन्, पैसाको समस्या छ ।’

डकर्मी कासुलाले नेपालमा धेरै मजदुरहरू बेरोजगार भएको बताए । उनले सबै मजदुरहरूको प्रतिनिधि गर्दै भने ‘आफूसँग भएको अलिअलि पैसा पनि सहकारीहरूमा फस्ने समस्या रहेको छ । अहिले मजदुरहरूलाई धेरै नै समस्या छ ।’

डकर्मी कासुलाले विसं २०५२ सालदेखि डकर्मी काम गर्न थालेका हुन् । उनले विचमा केही समय डकर्मी काम छाडे । तर वि.सं २०५८ सालदेखि उनले पुनः डकर्मी काम गर्न थाले ।

उनले मजदुरी गरेको पनि २२ वर्ष बिती सके छ । तर उनले कहिल्यै मजदुर दिवस मनाएनन् । नत उनले मजदुर दिवस मनाउन आवश्यक नै ठाने ।

डकर्मी कासुलाले भने ‘दिनकै कमाएर खानुपर्छ, एकदिन काम गरेन भने बालबच्चाहरू भोक्कै हुन्छ । सरकारले बिदा मात्रै दिएर के– काम मजदुरहरूको समस्या त्यही हो ।’

उनले सरकारले मजदुर दिवस भनेर बिदा दिएर मात्रै मजदुरहरूको जीवनस्तरमा परिवर्तन नआउने बताए । उनले सरकारलाई देशमै मजदुरहरूका लागि रोजगारीको अवसर सृजना गरिदिन आग्रह गरे ।

उनले सरकारले ठुला–ठुला आयोजनाहरू जिम्मा विदेशीलाई दिँदा नेपालका मजदुरहरू बेरोजगार भएको बताए ।

नेपालमा मजदुरहरूका सबैभन्दा ठुला समस्या भनेको नै बेरोजगार र आर्थिक समस्या हो । सरकारले स्थानीय तहमा विभिन्न रोजगारीका कार्यक्रमहरू लिएर आएपनि कतिपय मजदुरहरूलाई त्यसबारे सुइँको समेत छैन । उनीहरू पसिना बगाएर काम गर्नु पर्दा कहिल्यै दुखी हुँदैनन् तर काम नपाउँदा भने असाध्दै दुखी बन्छन् ।

आर्थिक मन्दी भन्दै साहू र ठेकेदारहरूले पैसा नदिँदा उनीहरूले ऋण लिएरै गुजारा चलाउनु परेको डकर्मी कासुला बताउँछन् ।

उनले पहिले डकर्मी काम गरेर सजिलै परिवार सम्हालेको भएपनि देशमा महँगी बढेसँगै अहिले गुजारा चलाउन धौ–धौ परेको उनले बताए । भने ‘पहिले यही गरेर भएपनि पुगिरहेको थियो, अहिले चैँ गाह्रो हुँदै गएको छ ।’

डकर्मी कासुलाको परिवारमा श्रीमती, छोरा र एउटी छोरी पनि छिन् । छोरीलाई मजदुर गरेर भएपनि नर्स बनाउने लक्ष्य रहेको उनले बताए ।

उनी मिहिनेति मजदुर हुनुका साथै एक असल बुबा पनि हुन् । त्यसैले त उनी मजदुर दिवसमा आराम नगरी बरु काम गर्न रुचाउँछन् ।

उनले भने ‘मनाउनु त पर्ने हो तर हामी काम गरेर नै मनाउँछौँ । अब घरको समस्या पनि हेर्नु पर्यो ।’ उनले काम गरेरै मजदुर दिवस मनाउने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *