‘ओलम्पियन्स रियुनियन’ मा सहभागी हुन विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा

काठमाडौँ । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेटमा सहभागी हुन ओलम्पिक खेलाडीहरू विराटनगर पुगेका छन् ।

कोशी प्रदेशका विभिन्न सहरमा हुने चार दिने ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सहभागी जनाउन अस्ट्रिया, मलेसिया लगायतका देशका ओलम्पिक खेलाडी विराटनगर पुगेका हुन् । विराटनगर विमानस्थलमा बुधवार दिउँसो कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष बिन्दिया कार्कीले आठ जना ओलम्पिक खेलाडीलाई स्वागत–सम्मान गरिन् ।

खेलाडीहरूलाई स्वागत गर्दै उपाध्यक्ष कार्कीले ओलम्पिकजस्तो खेलकुदको महाकुम्भमा सहभागिता जनाएका खेलाडीलाई कोशी प्रदेशमा स्वागत गर्न पाउँदा खुसी लागेको बताइन् । नेपाल ओलम्पिक एसोसिएसनकी सचिव देवु थापाले विभिन्न प्रतियोगितामा आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका खेलाडीलाई फेरि एकै स्थान उभ्याउन प्रयास गरिरहेको बोर्डको काम सराहनीय रहेको बताइन् ।

खेलाडीसँगै आएका हास्यकलाकार सन्दीप क्षेत्रीले राष्ट्रका गहना मानिने खेलाडीको सम्मानमा यस्तो कार्यक्रम आयोजना हुँदा खेल क्षेत्रले फड्को मार्ने बताए । उनले पुनर्मिलन कार्यक्रमले पुराना खेलाडीमा सम्मान महसुस दिलाउने मात्र नभई खेलक्षेत्र प्रवेश गर्दै गरेका युवा पुस्तामा पनि हौसला मिल्नेमा आफू विश्वस्त रहेको बताए ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एशोसिएशनको संयोजनमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । पुनर्मिलन कार्यक्रममा ६० जना नेपाली ओलम्पियन्स खेलाडी र २५ जना प्रदेशभित्रका अनुभव र अभ्यासमा विशेष दख्खल राखेका चर्चित खेलाडीलाई सहभागिता गराइने बताइएको छ । विदेशी ओलम्पियनस पनि कार्यक्रममा सहभागी हुनेछन् ।

चार दिने भ्रमणका क्रममा खेलाडीलाई मोरङ, सुनसरी, झापा र इलाम जिल्लामा पर्यटन र खेल प्रवर्द्धनमा जोड मिल्नेगरी अघि बढाइने बताइएको छ । खेल पर्यटनसँगै श्रीअन्तु पर्यटकीय क्षेत्रलाई समेत पुनर्मिलन भ्रमण कार्यक्रमले थप उजागर गर्ने बोर्डले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *