घरजग्गा कारोबार व्यक्तिगत कारोबार भन्दा पनि कम्पनीमार्फत गर्नुपर्छ : अध्यक्ष लोहनी
काठमाडौँ । नेपाल घर जग्गा तथा आवासीय विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गा व्यवसायीहरूले व्यक्तिगत कारोबार भन्दा पनि कम्पनीमार्फत गर्न आवश्यक रहेको बताएका छन् ।
कास्की घरजग्गा तथा आवासीय विकास संघको वार्षिक साधारण सभामा बोल्दै यस्तो बताएका हुन् ।
उनले व्यक्तिगत रुपमा घरजग्गाको कारोबार गर्दा घरजग्गा व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको भन्दै संयुक्त कम्पनीमार्फत ठूला आयोजनाहरूमा काम गर्ने वातावरण व्यवसायीहरूले बनाउन आवश्यक देखिएको उल्लेख गरे । उनले सरकारले व्यवस्थित र पारदर्शी घरजग्गा कारोबार बनाउनको लागि ल्याण्ड पुलिङको ढोका खोल्न आवश्यक रहेको बताए ।
उनले ७५३ स्थानीय तहमा ल्याण्ड उपभोग नीति लागू भएकाले त्यहीअनुसार स्थानीय तहहरूले पनि सहर बनाउने गुरुयोजना बनाउनुपर्ने बताए । उनले स्थानीय तहहरूले बनाएको योजनामा निजी क्षेत्रले कम्पनीमार्फत काम गर्दा व्यवस्थित सहर बनाउन सकिने बताए । उनले अब साना व्यवसायीहरू मिलेर कम्पनी बनाउने र कम्पनीहरू पनि मर्ज भएर ठूलो पुँजी भएका कम्पनी बनाएर ठूला आयोजनाहरूमा काम गर्न आवश्यक भएको बताए ।
उनले भने ‘ल्याण्ड पुलिङ सरकारले निजी क्षेत्रको लागि ढोका खोल्नुपर्छ । सरकारले ७५३ स्थानीय तहमा ल्याण्ड उपभोग पोलिसी लागू भइसकेको छ । उहाँहरुले आवासीय क्षेत्रहरूको वर्गीकरण गर्छ । त्यसको स्थानीय सरकारले गुरुयोजना बनायोस् । गुरुयोजनामा विल्डिङ गर्नुप¥यो । टाउनप्लानिङ बनाउनुपर्छ । खुद्रे आयोजनाहरू होइन । घरजग्गा व्यवसायीले साना योजना गर्नुको सट्टा धेरै जना मिलेर कम्पनी बनाउने र साना कम्पनीहरू मर्ज भएर ठूला पुँजी भएका कम्पनीहरू बनाउनु पर्छ । विश्वमा रियल स्टेट व्यवसायीहरू भनेका धनाढ्यहरूले मात्रै बन्ने परिस्थिति बन्छ । तर नेपालमा त्यति ठूलो पुँजी छैन । नेपाली व्यवसायीहरूले छरिएको पुँजीबाट व्यक्तिगत कारोबार गर्ने होइन । संयुक्त कम्पनीको रुपमा काम गर्नु आवश्यक छ । त्यसको लागि व्यवसायीहरू पनि लाग्नुपर्छ र व्यवस्थित सहर बनाउनुपर्छ । त्यसको लागि सरकारले ल्याण्ड पुलिङ खुला गर्नुपर्छ । त्यसको लागि शहरी ऐन बनाउन आवश्यक रहेको छ ।’
उनले सरकारले ल्याण्ड पुलिङ खुला गरी शहरी ऐन बनाउन आवश्यक रहेको उल्लेख गरे ।