प्रसंग : सवारी दुर्घटना

अब त म फर्किन्न होला

‘अब त म फर्किन्न होला…’

यो गीतको पङक्ती नसुनेका यस पुस्ताका युवाहरू हाम्रो समाजमा एकदमै कम भेटिन्छन् । गीतमा भएको स्वर र शब्दका कारण यो गीत युवापुस्तामाझ निकै लोकप्रिय बनेको देखिन्छ । यस गीतलाई गायिका जेरुसा राईले गाएकी हुन् । यस गीतको शब्दहरूले वर्तमान मानिसहरूको मनोदशालाई देखाएको छ । ‘अब त म फर्किन्न होला’ जस्तो । हो, केहिदिन देखि मलाई पनि यस्तै लाग्न थालेको छ ।

पहिले मलाई मकालुखबरबाट समाजमा भएका हत्या, हिंसा र सडक दुर्घटनाका खबरहरू पोष्ट गरिरहँदा रातमा नमिठो निन्द्राले सताउने गर्दथ्यो । दिनमा केहीजस्तो नलागे पनि रातमा नराम्ररी छटपटाउँथे म । रातमा ती सबै घटनाहरू आफैमाथि घटेजस्तो लाग्थ्यो मलाई । बिस्तारै मैलै ती घटनाहरूलाई हलुका रुपमा लिन थाले । तर पहिले सञ्चारमाध्यमबाट मात्रै सुनिएका उक्त खबरहरू अहिले कान नजिकै सुन्न थालेकी छु ।

‘अब त म फर्किन्न होला’ गीतले वर्तमान परिस्थिति संग जोडिएको म र मेरो मानसिकतालाई बोलिदिए झैँ लाग्छ मलाई ।

आजभोलि बिहानै घरबाट हिँडेकी म बेलुकी घर नफर्कने पो हुकी भन्ने अनिश्चितताले ज्यादै पिरोल्न थालेको छ ।
केहिदिन अगाडिको कुरा हो । बेलुकी सदाझैँ अफिसबाट घर जानका लागि बिजुलीबजारको पुलमा पुगेको थिए । एउटा निलो बस हुइँकिँदै म तिर आइपुग्यो ।

बसका सिटहरू प्राय खाली नै देखिन्थे । बस चढ्नै लाग्दा पछाडिबाट अर्को बस पनि उसैगरी हुइँकिँदै म छेउ आइपुग्यो । म अघिल्लो बसमा चैँ चढे । त्यसपछि हाम्रा गुरुजीले सन्तुलन गुमाएझैँ गरि बस चलाउन थाल्नुभयो । बसमा भएका सबै यात्रुहरू आत्तिएर कराउन थाले । केहीपर पुगेर निलो बस एउटा बोलेरो गाडीसँग ठोक्कियो ।

त्यसबेला खास्सै ठूलो दुर्घटना त भएन तर गुरुजीको चाल देख्दा ठूलै दुर्घटना हुने सम्भावना बढी थियो । त्यो दिन जे होस् भगवानले सबैलाई रक्षा गरिदिए ।

उक्त घटनापछि करिब ८:३० बजे म घर पुगे । बेलुकी घरमा पुग्दा सधैँ हल्लाखल्ला गर्दै रमाउने मेरी बहिनी चुपचाप बसेकी थिइन् । आमासँग सामान्य कुराकानी गर्दै म उ छेउ पुगे । उनको गालामा घाउ भएको रहेछ ।

बहिनीले भनेअनुसार उनी कलेजबाट फर्कँदै गर्दा उनको विपरीत दिशाबाट एउटा ट्रक आयो । उक्त ट्रकलाई अर्को बाइकले ओभरटेक गर्न लाग्दा बाइक सिँधै बहिनी भएतिर आयो । त्यसबेला उनी अत्तालिँदै सडकको तलको भागमा हाम फालिन् ।

उत्तिखेर बहिनीले सामान्य चोटपटक मात्र लागेको भन्ने ठानेर बाइक चालकलाई केही नभएको बताइन् । तर घाउ बासी हुँदै जाँदा झनै चराउन थाल्यो ।

मैले बहिनीको घाउलाई नजिकबाट नियाले । उनको गाला र कम्मरमा सामान्य चोट लागेको रहेछ । त्यसपछि दराजमा भएको मलम निकाल्दै मैलै उसका घाउहरूमा मलम भरिदिए ।

त्यसबेला मलाई खुसी पनि लागिरहेको थियो । किनकि बहिनीलाई सामान्य चोटपटक मात्रै लागेको रहेछ । नत्र त्यसरी मलम लगाइदिने भाग्य सबैको कहाँ हुन्छ र ?

अहिले दैनिक सञ्चारमाध्यममा ६/७ जना मानिसहरू सडक दुर्घटनामा परेर मृत्यु भएको खबर आइरहेका छन् । उनीहरू कसैका दाजु, कसैका भाइ, कसैका दिदीबहिनी त आमाबुबा होलान् । तर दुर्भाग्यवश हाम्रा देशका चालकहरूको लापरबाहीले गर्दा हरेक दिन कुनै न कुनै परिवारले आफ्ना सदस्यहरूलाई गुमाउनु परिरहेको छ । अफसोस त उनीहरूले आफ्ना परिवारका सदस्यलाई मायाले छोएर मलम लगाइदिने मौका समेत पाउँदैनन् ।

किनकि उनीहरूको घाउ त ‘मृत्यु’ को घाउ हो । मेरी बहिनीको जस्तै निको हुने घाउ होइन ।

‘अब त म फर्किन्न होला’ गीत जस्तै सडक दुर्घटनाका कारण कति मानिसहरू त यस संसारबाट बिदा भइसकेका छन् । तपाई-हाम्रो जीवनलाई पनि यसले अनिश्चित र अस्तव्यस्त बनिदिएको छ । त्यसैले हामी सबैले बेलैमा सचेतना अपनाउन जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *