स्मार्ट ट्राफिक लाइट जडान गर्ने सरकारको घोषणा
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाभित्रका व्यस्त ४४ चोकमा स्मार्ट ट्राफिक लाइट जडान गर्ने भएको छ । आगामी आर्थिक वर्षबाट सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित राष्ट्रिय सडक सञ्जालको लागि डिजाइन तथा निर्माणको चरणमा सडक सुरक्षा परीक्षणको व्यवस्था गरिने छ ।
सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेटमा सम्भावित दुर्घटनास्थल पहिचान गरी घुम्ती तथा साँघुरो सडकमा क्यार्स व्यारियरको निर्माण गरिने उल्लेख छ ।
अर्थमन्त्री पुनले भने, ‘सडक पूर्वाधारलाई सुरक्षित, गुणस्तरीय, दिगो र भरपर्दो बनाइनेछ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड र कमला–कञ्चनपुर सडकखण्डलाई चार लेनमा विस्तार गर्ने कार्य आगामी आर्थिक वर्ष सम्पन्न गरिनेछ ।
काँकड़भिट्टा–लौकही, कमला–ढल्केवर–पथलैया, पथलैया–नारायणघाट, बुटवल–गोरुसिङ्गे र भालुबाङ्ग–लमही सडक खण्ड स्तरोन्नति कार्य शुरू गरिनेछ । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड विनियोजन गरेको छु ।’
काठमाडौं–तराई मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत निर्माणाधीन महादेवटार, धेद्रे र लेनडाँडा सुरुङ मार्ग निर्माण आगामी आर्थिक वर्ष सम्पन्न गरिने छ । ५७ पुलको निर्माण कार्यलाई तीव्रता दिइने छ । काठमाडौं–तराई मधेश द्रुतमार्ग आयोजनाका लागि २२ अर्ब ५४ करोड विनियोजन गरिएको छ ।
मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत निर्माणाधीन कटुञ्जे–आरुघाट सडक खण्ड समेत गरी ७५ किलोमिटर कालोपत्रे र १० वटा पुल निर्माण कार्य सम्पन्न गरिने छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको लागि तीन अर्ब ६८ करोड विनियोजन गरिएको छ । हुलाकी राजमार्ग अन्तर्गत ७५ किलोमिटर कालोपत्रे र १० वटा पुलको निर्माण कार्य सम्पन्न गर्न तीन अर्ब ३० करोड विनियोजन गरिएको छ ।
सरकारले यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागू गरी सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र पहुँचयोग्य बनाइने जनएको छ ।
त्यस्तै दिगो तथा वातावरण मैत्री यातायात प्रणालीको विकास गरिने भएको छ । सडक दुर्घटनाबाट घाइते व्यक्तिको उपचारका लागि प्रदान गरिने रकम र सडक दुर्घटनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई दिइने क्षतिपूर्ति रकम वृद्धि गर्न आवश्यक व्यवस्था मिलाइने बजेटमा उल्लेख छ ।