पुनः गण्डकीको मुख्यमन्त्रीमा फर्किँदै कांग्रेसका पाण्डे

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुँदैछन् । सर्वोच्च अदालतको आदेशअनुसार पाण्डे आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।

न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले सोमबार एमाले संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गर्दै सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो । पाण्डे संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।

गत वैशाख २३ गते सभामुख कृष्ण धितालले उपस्थित संख्या ५९ को बहुमत ३० मानेर मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत प्राप्त भएको घोषणा गरेका थिए । जसमा एमालेका २२, माओवादीका ७ र एक स्वतन्त्र उम्मेदवार गरी ३० जनाले मत दिएका थिए ।

तर, सर्वोच्चले उपस्थित संख्या नभई सभाको कुल सदस्य संख्या ६० को बहुमत कम्तीमा ३१ मत हुनुपर्ने ठहर गर्दै अधिकारीलाई पदमुक्त गर्दै ठूलो दलको हैसियतमा पाण्डेलाई नियुक्त गर्न आदेश दिएको थियो । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका सभामुखसहित ८, राप्रपाका दुई र एक स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *