अमेरिकाले फेरि दिएन सन्दीपलाई भिसा

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । दोस्रो पटक आज अन्तर्वार्ताका लागि बोलाए पनि दूतावासले भिसा दिएन ।

आज मात्रै खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका थिए । उनले लामिछानेसँग सरकारले विश्वकप खेल्न पठाउनका लागि कुटनीतिक पहल गरेको र विश्वकप खेल्न जान पाउनेमा आशावादी रहेको बताएका थिए । तर सन्दीपलाई दूतावासले भिसा दिन अस्विकार गरेको छ ।

यससँगै उनको विश्वकप खेल्ने सपना समाप्त भएको छ । अमेरिका र वेष्टइन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् ।

यसअघि पनि सन् २०१९ मा पनि अमेरिकी दूतावासले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जाने बेलामा सन्दीपलाई सुरुमा भिसा दिएको थिएन पछि आलोचना धेरै भएपछि दूतावासले सन्दीपलाई प्रक्रिया पूरा गरेर भिसा दिएको थियो ।

यसअघि उच्च अदालत पाटनले लामिछानेलाई जिल्ला अदालत काठमाडौले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्टाउँदै सफाइ दिएको थियो ।

त्यसपछि उनलाई नेपाल क्रिकेट संघले निलम्बन फुकुवा गर्दै विश्वकपका लागि नेपाली टिममा राख्नका लागि आइसिसीसँग सहमति लिएको थियो । आइसिसीको सहमतिसँगै सन्दीप अमेरिका जान लागेका थिए । तर, अमेरिकाले भिसा नदिँदा सन्दीपले विश्वकप गुमाउने आकलन गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *