सरकारले आन्तरिक ऋण बढी लिँदा बैंकहरुलाई फाइदा हुँदैन : चन्द्रप्रसाद ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आन्तरिक ऋण बढी लिँदा बैंकहरुलाई फाइदा नहुने बताएका छन् ।
शुक्रवार काठमाडौंमा स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको मुलुकको आर्थिक अवस्था र बजेट समिक्षा विषय कार्यक्रममा बोल्दै उनले सरकारले आगामी आर्थिक वर्षमा ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण लिने लक्ष्यले बैंकहरुलाई फाइदा नहुने बताए ।
उनले सरकारले बैंकहरुलाई दिन ब्याजदर एकदमै कम हुने भन्दै त्यसबाट बैंकहरुलाई फाइदा हुन नसक्ने उल्लेख गरे । उनले सरकारले बैंकहरुमा भएको रकमलाई आन्तरिक ऋणका रुपमा लिँदा बजारमा लगानी योग्य रकमको अभाव हुने बताए ।
उनले बजारमा लगानी योग्य रकमको अभाव भएर व्यवसायीहरुले कर्जा नपाउने अवस्था आउने उल्लेख गरे । उनले सरकारले सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य बजेट सही तरिकाले कार्यान्वयन भए सम्भव रहेको बताए ।
उनले त्यसको लागि हुबहु कार्यान्वयनमा जानुपर्ने भन्दै हरेक बजेटमा निजी क्षेत्रका लागि राम्रा आएपनि कार्यान्यनमा समस्या रहेको बताए ।
उनले बजेट कार्यान्वयन र सरकारले सञ्चालन गर्ने हरेक कार्यक्रम र योजनामा निजी क्षेत्रलाईसँगै लैजाने योजना कार्यान्वयन हुन आवश्यक रहेको बताए ।
उनले पछिल्लो एक वर्षमा मुलुकको अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको मुख्य भुमिका रहेको कुरा स्थापित भएको र सरकारले पनि अपनत्व गरेको बताए ।