स्वास्थ्य सेवा गुणस्तर बनाउन ३ सदस्यीय अध्ययन समिति गठन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा गुणस्तर बनाउन ३ सदस्यीय अध्ययन समिति गठन गरेको छ ।

मन्त्रालयले शुक्रबार मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. दिपेन्द्र रमण सिंहको नेतृत्वमा ३ सदस्यीय अध्ययन समिति गठन गरेको हो ।

स्वास्थ्य मन्त्री प्रदीप यादवले शल्यक्रिया लगायतका स्वास्थ्य सेवाहरू चुस्त दुरुस्त राख्न र गुणस्तर बनाउन समिति गठन गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ समितिले पहिलो चरणमा काठमाडौँ उपत्यका भित्रका संघीय अस्पतालहरूको स्थलगत अनुगमन गरी अस्पतालहरूमा शल्यक्रिया लगायतका सेवाको लागि लामो समयसम्म पालो कुर्नुपर्ने, प्रेषणको अवस्था, सेवाको गुणस्तर एवं प्रक्रिया लगायतका विषयवस्तुहरू साथै अस्पतालहरूबाट प्रदान हुने बहिरंग सेवा, प्रयोगशाला सेवा र रेडियोलोजी सम्बन्धी सेवा, तथा अस्पतालहरूमा बिरामीको चाप, जनशक्ति, साधन स्रोत एवं अन्य पूर्वाधारहरुको अध्ययन गरी प्रभावकारी व्यवस्थापनको लागि ३ महिना भित्र गर्न सकिने अल्पकालीन कार्ययोजना, १ आ.व. भित्र गर्न सकिने मध्यकालीन कार्ययोजना र ५ वर्षभित्र गर्नुपर्ने कार्ययोजना समेत तयार गरी २ हप्ता भित्र अध्ययन प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको जानकारी पनि गराउँदछौँ ।’

अस्पतालहरूमा समयमा बिरामीले उपचारका लागि पालो नपाएकोलगायतका गुनासोहरू आइरहेकाले त्यसलाई सम्बोधन गर्न समिति गठन गरिएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *