भोलिदेखि टि २० विश्वकप क्रिकेट सुरु हुँदै, पहिलो खेलमा आयोजक अमेरिकाले क्यानडाको सामना गर्ने

आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आइतबार बिहानदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल नेपाली समयअनुसार, आइतबार बिहान ६ बजे सुरु हुनेछ । उद्घाटन खेलमा आयोजक राष्ट्र अमेरिकाले छिमेकी राष्ट्र क्यानडाको सामना गर्नेछ ।

अमेरिकाले आयोजकका रूपमा विश्वकप खेल्ने अवसर पाएको हो । क्यानडा भने अमेरिकी क्षेत्रको छनोट चरण पार गर्दै विश्वकपमा सहभागी भएको हो । प्रतियोगिताको उद्घाटन खेल अमेरिकाको टेक्सासमा हुने छ ।

पहिलो दिन दुई खेल हुनेछन्। पहिलो दिनको दोस्रो खेल अर्को आयोजक राष्ट्र वेस्ट इन्डिज र पपुवा न्यु गिनीबिच हुनेछ । पीएनजी छनोट चरण पार गर्दै विश्वकपमा पुगेको हो। वेस्ट इन्डिज र पीएनजीबिचको खेल नेपाली समयअनुसार, राति २०स्१५ बजे सुरु हुनेछ । खेल गुयनामा खेलिने छ ।

अमेरिका र क्यानडा समूह ‘ए’ मा छन् । उक्त समूहमा पूर्वविजेता भारत र पाकिस्तानका अतिरिक्त आयरल्यान्ड पनि रहेको छ । वेस्ट इन्डिज र पीएनजी भने समूह ‘सी’ मा छन् । उक्त समूहमा युगान्डा, न्युजिल्यान्ड र अफगानिस्तान पनि छन् ।

टी–२० विश्वकपको नवौँ संस्करण जुन २९ तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगिता अमेरिकाका तीन र वेस्ट इन्डिजका ६ वटा रंगशालामा खेलाइँदै छ । अमेरिकामा पहिलो पटक क्रिकेटको विश्वकप आयोजना भएको हो ।

टी–२० विश्वकपको नवौँ संस्करणमा सहभागी टोलीको सङ्ख्या पनि बढाइएको छ । विश्वकपको यो संस्करणमा कुल २० टोलीको सहभागिता रहेको छ । अघिल्लो संस्करणमा भने १६ वटा टोलीले सहभागिता जनाएका थिए ।

टी–२० विश्वकपको इतिहासमा दुई राष्ट्रले संयुक्त रूपमा प्रतियोगिता आयोजना गरेको यो दोस्रो पटक हो । यसअघि सन् २०२१ मा संयुक्त अरब इमिरेट्स ९यूएई० र ओमानले संयुक्त रूपमा टी–२० विश्वकप आयोजना गरेका थिए ।

नवौँ संस्करणका क्रममा कुल ५५ खेल खेलिने छ । प्रतियोगिताको समूहगत चरणमा ४० खेल हुनेछन् । प्रतियोगिताको ‘सुपर एट’ चरणमा कुल १२ खेल खेलिने छ । त्यसपछि सेमिफाइनलमा दुई र फाइनलमा एक गरी तीन खेल हुनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *