ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा नखटाउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले मापसे लगायत सवारी कारबाहीमा परेकाहरुलाई सडकमा खटाउने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्णयमा रोक लगाएको छ ।
आइतबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले गृहमन्त्री लामिछानेको उक्त निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै कारण देखाउ आदेशसहित अन्तरिम आदेश जारी गरेको हो ।
गणतन्त्र दिवसका दिन गृहमन्त्री लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीको ४ दिन सडकमा ड्युटी गर्नु नपर्ने र मापसे लगायत सवारी कारबाहीमा परेकाहरुले सडकमा ड्युटी गर्न निर्देशन दिएका थिए ।
उक्त निर्णयकोविरुद्ध शुक्रबार कृष्ण विक, रविन्द्र पौडेल, आकाशकुमार भट्ट, प्रमेस पौडेल, उज्जल माली, ईमामुल हक र राजु परियारले रिट दायर गरेका हुन् ।
गृहमन्त्री लामिछानेले कानुन विपरित सवारी चालकहरुलाई सडकमा उभ्याइएको भन्दै सडकदेखि सदनसम्म विरोध भइरहेको थियो ।