विश्वकपमा कान्छा कप्तानको प्रदर्शनको पर्खाइ

काठमाडौं । नेपालले नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप क्रिकेटको पहिलो खेल भोलि खेल्दैछ । नियमित प्रतिद्वन्द्वीजस्तै बनेको नेदरल्यान्ड्सविरुद्ध मंगलबार राति सवा ९ बजे खेल्दै नेपालले विश्वकप क्रिकेटमा बहुप्रतीक्षित पुनरागमन गर्ने भएको हो ।

दशकपछि ट्वान्टी-२० विश्वकपमा फर्किएको नेपालले डालासको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा हुने यहीं खेलबाट लय समात्ने आस गरिएको छ । समूहमा आफूभन्दा निकै बलिया टोली रहेका कारण नेपाल पहिलो खेलबाटै आफ्नो उत्कृष्ट दिने दाउमा छ । नेपालले समूह ‘डी’ मा नेदरल्यान्ड्सबाहेक श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ । आईसीसी वरीयतामा होस् वा प्रदर्शनका हिसाबमा नेपालभन्दा सबै बलिया टोली हुन् ।

नेपालसँग नेदरल्यान्ड्सको जितको शृंखला आलोपालो जस्तै छ । दुई टोलीबीचको पछिल्ला ५ खेलमा नेदरल्यान्ड्सले ३ र नेपालले २ खेलमा जितेको छ । नेपाललाई पराजित गर्दै मार्चमा घरेलु मैदानमा भएको नामिबियासम्मिलित त्रिकोणात्मक शृंखला नेदरल्यान्ड्सले जितेको थियो ।

रोहित विश्वकपमा कान्छा कप्तान
अहिले रोहित पौडेल अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने नवौँ संस्करणका कान्छो कप्तान बनेका छन् । सन् २०१६ को रियो ओलिम्पिक्समा पौडीकी गौरिका सिंह सबैभन्दा कान्छी खेलाडी बनेर चर्चित भएकी थिइन् ।

जून महिनाको ४ तारिखमा द नेदरल्यान्डस् विरुद्धको विश्वकपको पहिलो खेलमा कप्तानी गर्दा रोहितको उमेर २१ वर्ष ९ महिना २ दिनको हुनेछ । अधिकांश युवा कीर्तिमान रोहितकै नाममा छ । २० वर्षकै उमेरमा एक दिवसीय टोलीको कप्तानी गर्ने कीर्तिमान रोहित कै हो ।

एसिया कपमा ऐतिहासिक एक दिवसीय प्रतिस्पर्धामा उत्रिँदा पनि रोहित कान्छा कप्तान बनेका थिए । उनी १५ वर्ष ३३५ दिनको उमेरमै एक दिवसीय खेल्ने छैटौँ युवा खेलाडी हुन्  । कान्छो कप्तान हुनु नै उपलब्धि हुँदै होइन । अझ विश्वकप जस्तो विशाल प्रतिस्पर्धामा त पाका र अनुभवी खेलाडीहरूलाई नै टोलीले कप्तानीमा रोज्ने गर्छन् ।

सहभागी अन्य १९ राष्ट्रलाई हेर्ने हो भने प्रायस्ले पाका खेलाडीलाई नै टोलीको जिम्मेवारी सुम्पिएको छ । रोहित पछिका युवा कप्तान भने अफगानिस्तानका रसिद खान र बाङ्ग्लादेशका नाजमुल हुसेन सान्तो हुन् । दुवै २५ वर्षका भए ।

कान्छो कप्तान हुनुले विश्वकप जस्तो प्रतिस्पर्धामा देखिने दबाव झेल्न गाह्रो हुने हो कि भन्ने डर कतिपयलाई हुन सक्छ । राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा भन्छन्, ‘युवा खेलाडीहरू खुलेर खेल्यो भने त्यसले सकारात्मक नतिजा दिन सक्ने सम्भावना पनि उतिकै रहन्छ ।’

रोहित मात्र होइन, नेपाली टोलीमा युवा खेलाडीहरूकै बाहुल्यता छ । विश्वकप सुरु हुनु अगाडि नै कान्छो कप्तानको रूपमा रोहितले चर्चा बटुलिसकेका छन् । त्यो चर्चालाई उत्कृष्ट प्रदर्शनमा बदल्न सफल होलान् भन्ने धेरैको मनमा जिज्ञाशा छ । बीबीसीको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *