कतारमा कार्यरत नेपाली श्रमिक र आश्रित परिवारलाई केएमसीमा सहुलियत शुल्कको स्वास्थ्य उपचार

काठमाडौँ । संघिय सांसद डा. सुनिल कुमार शर्माले कतारमा कार्यरत नेपाली श्रमिक तथा उनीहरूका आश्रित परिवार सदस्यहरूका लागि बिरामी भई उपचार गर्दा काठमाडौं मेडिकल कलेजमा विशेष सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाएका छन् ।

आज कतार स्थित नेपाली राजदूतावासमा भएको एक कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतार र नेपाली जनसम्पर्क समिति कतारबीच कतार स्थित नेपाली राजदूत महामहिम डा. नरेश विक्रम ढकालको समुपस्थितमा काठमाडौं मेडिकल कलेजले सम्झौता गरेको हो ।

सम्झौता अनुसार अव कतारमा बसोबास गर्दै आएका सम्पूर्ण गैरआवासीय नेपालीहरू तथा वैदेशिक रोजगारको सिलसिलामा कतारमा कार्य गर्दै आएका नेपाली श्रमिकहरू उपचारका लागि केएमसी आउँदा अस्पताल सेवामा ५० प्रतिशत छुट हुने अस्पतालले जनाएको छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट सिधै सिनामंगल स्थित केएमसी उपचारकालागि आउने क्रममा केएमसीको एम्बुलेन्स प्रयोग गरिएमा एम्बुलेन्स शुल्क पनि पाँच सय मात्र गरिएको सांसद शर्माको भनाई छ ।

‘कतार भ्रमणको सिलसिलामा त्यहाँ रहेनु भएका गैरआवासीय साथीहरू र कतारमै कार्य गर्दै आउनु भएका नेपाली साथीहरू सँगको छलफलमा कतारमा रहेका करिब ३ लाख ६६ हजार नेपाली कामदारहरूको अवस्था, बस्दा रहँदा आई पर्ने रोगको उपचारमा हुने आर्थिक समस्या र परिवारको सदस्यहरूको उपचारलाई सहज बनाउन गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतार र नेपाली जनसम्पर्क समिति कतार संग सहमति गर्ने निर्णय भयो’ डा. शर्माले बताए ।

सम्झौता पत्रमा उल्लेखित सुविधाहरू २०८१ असार मसान्त सम्म कायम रहने छ भने कतारमा कार्यरत नेपाली श्रमिकको आश्रित परिवार अर्थात् आमा, बुबा, श्रीमानरश्रीमति, अविवाहित छोरा छोरीलाई समेत केएमसीले अस्पताल सेवामा १५ प्रतिशत छुट उपलब्ध गराउने जनाएको छ । यस अन्तर्गत सुविधा लिन आउँदा परिचय पत्र र नाता प्रमाणित हुने कागजात लिएर आउनु पर्ने उनले बताए ।

उपचार सेवा सम्बन्धी सम्झौता पत्रमा केएमसीको तर्फबाट कार्यकारी अध्यक्ष सोइना शर्मा र सल्लाहकार इन्दिरा शर्मा (बराल) ले हस्ताक्षर गरेका थिए भने गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतारका तर्फबाट परिषद्का अध्यक्ष रमेश भट्ट र प्रथम उपाध्यक्ष कृष्ण पन्थीले हस्ताक्षर गरेका थिए । त्यस्तै नेपाली जनसम्पर्क समिति कतारसँग भएको सम्झौतामा समितिका सभापति मो। अजिज अलि र महामन्त्री केदार भुषालले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *