पाँचौंपटक विश्वासको मत लिँदै मुख्यमन्त्री यादव, यस्तो छ अंकगणित

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पाँचौँ पटक विश्वासको मत लिँदैछन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले आज डेढ वर्षको अवधिमा पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन् ।  ​

पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी चन्दनकुमार ठाकुरले जानकारी दिए ।

अंकगणित
१०७ सदस्य मधेश प्रदेश सभामा एमालेको सभामुखसहित २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सिट छ । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको एक/एक सिट छ । सरकार बनाउन वा बचाउन चाहिने अवश्यक ५४ सिट जसपाको पुग्दैन ।

जनमतको नेतृत्वमा सरकार बनाउने सहमति गरेका एमाले, माओवादी केन्द्रसँग, अब एकीकृत समाजवादी पनि थपिएका छन् । नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले सहयोग गर्ने सहमति गरिसकेकाले अब उसको संख्या ५५ पुग्छ । यस कारण अब जनमत संसदीय दलका नेता महेशप्रसाद यादव मुख्यमन्त्री बन्ने निश्चित जस्तै छ ।

विसं २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले पहिलोपटक २०७९ माघ ४ गते विश्वासको मत लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *