ओलीको ‘तबला’मा नमिलेको बालेन ताल !
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आफ्ना अभिव्यक्ति र कामका कारण चर्चामा आइरहन्छन् । यी दुई नेताहरू सधैँ जसो सामाजिक सञ्जालमा सक्रिय पनि हुन्छन् । यी दुई नेताहरूका समर्थक पनि उत्तिकै छन् । तर पछिल्लो समय ओली र बालेनको द्वन्द्व सतहमा आएको छ ।
बालेनले अध्यक्ष ओली जोडिएको गिरिबन्धु टी स्टेट प्रकरणबारे सामाजिक सञ्जालमा प्रमाणसहित विभिन्न पोष्ट गरिरहेका छन् । ओलीमाथि गिरिबन्धु टी-स्टेटको जग्गामा करोडौँ अपचलन गरेर घुस लिएको आरोप बालेनले लगाएका छन् । त्यसपछि बालेन चर्चा र आलोचनाको सिकार बनिरहेका छन् ।
ओलीले आफू प्रधानमन्त्री भएका बेला गिरिबन्धु टी-स्टेटको जग्गा सट्टाभर्ना गर्न दिने कानुन बनाएका थिए । तर, सर्वोच्चले जग्गा सट्टाभर्ना हुन नसक्ने भन्दै कानुन नै बदर गरिदिएपछि ओली नैतिक संकटमा छन् । बालेनले ओलीमाथि नैतिकताको प्रश्न उठाउँदै भ्रष्टाचारीको आरोप लगाउँदै आएका छन् ।
यता, एमाले कार्यकर्ताले बालेनको अभिव्यक्तिप्रति आक्रोश र आपत्ति पोखिरहेका छन् । सामाजिक सञ्जालमा मात्रै होइन, संसदमा समेत एमालेका सांसदहरूले बालेनको आलोचना गरिरहेका छन् । उनीहरूले बालेनको आलोचना मात्रै होइन, अभिव्यक्ति सच्याउनुपर्ने चेतावनी समेत दिएका छन् । बालेनका समर्थकले ओलीको आलोचना गरिरहेका छन् ।
के हो विवाद ?
एमाले र बालेनको विवाद लामो समयदेखिको हो । बालेनलाई नगर सभामा एमालेका जनप्रतिनिधिले साथ नदिँदा बालेन एमालेको नेतृत्वसम्मै खनिन पुगेका हुन् । सुरुमा बालेनले काठमाडौँको न्यूरोड क्षेत्रमा सडकलाई फुटपाथ ठुलो बनाउने घोषणा गर्दै काम थालेका थिए । तर, एमालेबाट निर्वाचित जनप्रतिनिधिले भने त्यसको विरोध गरे ।
न्यूरोडको सडक साँघुरो बनाएर फुटपाथ बढाउने गरी अभियान थालेका बालेनलाई एमाले कार्यकर्ता मात्रै होइन, सडक विभागले चुनौती दिएपछि यो विषय एमाले र बालेनको मुद्दा बन्न पुग्यो । यसमै जोडिन पुगे एमाले अध्यक्ष केपी ओली ।
जस कारण न्यूरोडमा सोमबार काठमाडौँ महानगर र केन्द्रीय सरकारबीच घम्साघम्सी नै भयो । सडक भत्काएको भन्दै बनाउन अल्टिमेटम दिएको सडक डिभिजन कार्यालयका कामदारलाई पिच गर्न भ्याईनभ्याइ थियो । यता, बालेन पनि के कम, उनले सामाजिक सञ्जालबाटै स्ट्याटस लेखेर ओलीलाई गिरीबन्धु टी स्टेटको जग्गामा बैना उठाएको रकम फिर्ता गर्न चुनौती नै दिए ।
त्यसपछि यो विषय फेरि चर्चाको शिखरमा पुग्यो । बालेनको अभिव्यक्तिले आगो बनेका एमाले कार्यकर्ताहरू बालेनको आलोचनामा उत्रिए । अध्यक्ष ओली संयम पनि गिरिबन्धु प्रकरणमा बालेनले नाम जोडेपछि आक्रोशित बने । संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै यश विषयमा बालेनलाई नै सोध्नुस् भन्न सम्म भ्याए । ओलीको यो अभिव्यक्तिबाटै थाहा हुन्छ कि बालेन र एमालेबिचको द्वन्द्व कतिसम्मको हो भनेर ।
ओलीको ‘तबला’मा नमिलेको बालेन ताल !
स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौँको मेयरमा निर्वाचित भएका थिए बालेन । त्यसपछि नै हो बालेनको चर्चा र परिचर्चा थप उचाइमा पुगेको । बालेन काठमाडौँको मेयरमा निर्वाचित भएपछि सबैभन्दा पहिले ओलीले नै बधाई दिएका थिए । ओलीले बधाई र शुभकामना मात्रै दिएनन्, उपहारमा तबेला पनि दिएका थिए ।
ओलीले बालेनलाई ‘तबला’ उपहार दिएपछि सबै अचम्मित थिए । र्यापरलाई तबला उपहार भनेर ब्यङ् पनि गरियो । तर, अध्यक्ष ओलीले बालेनलाई तबलाको सुरमा काम गरून् भनेर उपहार दिएका रहेछन् । संसदमा एमाले सांसद योगेश भट्टराईले तबला उपहार दिएको प्रसङ्ग उठाउँदै बालेनले तबला बजाउन नजानेको आरोप लगाए ।
उनले बालेनले संयतता गुमाउँदै गएको बताउँदै उनले भनेका थिए। ‘उहाँले निर्वाचन जितेर आउने बित्तिकै हाम्रो अध्यक्षले तबला उपहार दिनुभएको थियो । तबला किन उपहार दिनुभयो । किन ड्रम बजाउने उपहार दिनुभएन । बालेन्द्र साहले सङ्गीतको ड्रम बजाएर नै आउनु भएको थियो । तर अध्यक्षले सोच विचार गरेर तबेला दिनुभयो । मेयरलाई तबलाको धुनमा काम गर्नुस् । तबलाको अर्थ हो । करुणा, प्रेम,सद्भाव र सम्यमता हो । तर काठमाडौँ महानगरपालिका प्रमुखले संयतता गुमाउँदै जानु भएको छ ।’