गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत माग्दै लिङ्देनलाई देउवाको पत्र
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वास मत माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेका छन्।
गण्डकीमा कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दल नेता पाण्डे मुख्यमन्त्री छन्। गत जेठ १६ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए।
मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रदेश सभाबाट विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ जना सांसद छन्।
यहाँ बहुमतका लागि ३१ जना सांसदको साथ चाहिन्छ। सभापति देउवाले शुक्रबार राप्रपा अध्यक्ष लिङ्देनलाई पठाएको पत्रमा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत माग गरिएको छ।
सभापति देउवाले लिङ्देनलाई पठाएको पत्रमा भनिएको छ, ‘प्रदेशको नीति तथा कार्यक्रम, बजेट निर्माणको संवेदनशील समय भएकोले मुख्यमन्त्री पाण्डेले यही जेठ २८ गते प्रदेश सभाबाट विश्वास मत लिन लागेको विशेष परिस्थितिमा तपाईंको दलको तर्फबाट विश्वास मत प्रदान गरी सहयोग गर्नका लागि अनुरोधसहित कांग्रेसको तर्फबाट यो पत्र पठाएको छु।’
गण्डकीका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिदै छन्। मुख्यमन्त्रीले लिने विश्वास मतले गण्डकी प्रदेशमा देखिएको अस्थिरता अन्त्य गर्ने र दलहरूका बीचमा नयाँ विश्वास तथा सहकार्यको वातावरण बन्नेछ भन्ने कुरामा कांग्रेस विश्वस्त रहेको सभापति देउवाले पठाएको पत्रमा उल्लेख गरेका छन्। यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वास मत असंवैधानिक भन्दै कांग्रेस संसदीय दल नेता पाण्डे सर्वोच्च गएका थिए।
पाण्डेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले पाण्डेलाई संविधानको धारा १६८ उपधारा ३ अनुसार प्रदेश सभाका सबैभन्दा ठूलो दलका संसदीय दलका नेताका हैसियतमा ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेशसमेत दिएको थियो। गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र राजीव गुरुङ ‘दीपक मनाङे’ गरी ६० जना सांसद छन्।
दुई सांसद रहेको राप्रपाले मुख्यमन्त्री पाण्डेलाई विश्वास मत दिएका खण्डमा पनि अझै बहुमतका लागि दुई सांसद आवश्यक पर्ने देखिन्छ। दीपक मनाङ्गे र फणिन्द्र देवकोटाको साथ लिएर मुख्यमन्त्री पाण्डे विश्वास मत लिने कसरतमा छन्।