टाप गाउँको कथा– ९४ घरमध्ये ९० घर गुरुङका मात्रै, भिर मौरी र पदयात्रा उन्नतिको आधार
गण्डकी । एकै ठाउँमा मिलेर बसेका ९४ वटा घर जसमध्ये ९० वटा गुरुङ समुदायका छन् भने बाँकी चार घर दलित समुदायका । लमजुङको दोर्दी गाउँपालिका–८ स्थित रमणीय गाउँका रूपमा रहेको टाप यस क्षेत्रको प्राचीन गाउँ हो ।
परम्परागत कला, संस्कृतिका साथै प्राकृतिक सौन्दर्यताका कारण धेरै पर्यटकीय सम्भावना रहेर पनि उचित प्रचारप्रसारको अभावमा यहाँको मौलिक पहिचान अझै उजागर हुन सकेको छैन । गाउँको प्रवर्द्धनसँगै पर्यटकीय उपयोगका लागि समय समयमा विभिन्न प्रयास भए पनि त्यसले अझै सार्थकता पाउन नसकेको स्थानीय समाजसेवी एवं दोर्दी गाउँपालिका–८ का पूर्व वडा सदस्य सुकबहादुर गुरुङले बताए ।
‘टाप गाउँ प्राकृतिक सुन्दरतासँगै आफैँमा मौलिक संस्कृतिले सम्पन्न ठाउँ हो’, उनले भने, ‘गाउँको पर्यटकीय सम्भावनालाई उजागर गर्न नसक्दा हामी अझै पनि बत्तीमुनिको अँध्यारो जस्तै बनेका छौँ ।’
प्राचीनकादेखि गाउँमाथिका भिरमा हुने गरेको भिर मौरीको सिकारको पर्यटकीय महत्त्व छ । यहाँबाट नजिकै रहेका प्रसिद्ध बराह पोखरी, लमजुङको उत्तरपूर्वी कुनामा पर्ने मेमे पोखरी यहाँको पहिचानसँग जोडिएका प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हुन् ।
टाप गाउँबाट लगभग पाँच घण्टाको हिँडाइमा बराह पोखरी पुग्न सकिन्छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ र दोर्दी गाउँपालिका–८ को सिमानामा पर्ने यो पोखरी समुन्द्री सतहबाट दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित रहेको गुरुङले जानकारी दिए । उनका अनुसार वरपर लालीगुराँसले ढाकिएको बराह पोखरीमा पात खस्नासाथ चराले टिपेर बाहिर फाल्ने भएकाले यसको महिमा र गरिमा अझै बढेको छ ।
बराह पोखरीमा श्रद्धाभक्तिपूर्वक पूजा गरेमा मनले चिताएको पुग्ने विश्वासले पनि धार्मिक महत्त्व चुलिएको स्थानीयवासी बताउँछन् । श्रद्धाभक्तिपूर्वक पूजाआजा गरेमा निःसन्तानलाई सन्तान प्राप्त हुने जनविश्वासले यसको धार्मिक महत्त्व बढाएको छ । टाप गाउँभन्दा माथि अन्य बस्ती नभएका कारण बराहपोखरी जाने धार्मिक पर्यटकलाई लक्षित गरी यो गाउँमा घरबास (होमस्टे) कार्यक्रम सञ्चालन गर्ने आफूहरूको सोच रहेको गुरुङले बताए ।
गाउँभन्दा माथिका चिन्मी, तिजे, छौंदी जस्ता भिरहरूमा पर्याप्त भिर मौरी पाइने र यी ठाउँमा परम्परागत रूपमा वार्षिक भिर मौरीको सिकार गर्ने गरिएको दोर्दी गाउँपालिकाका रोजगार संयोजक धर्मराज गुरुङले बताए । टाप गाउँमाथिका भिरमा परम्परागत रूपमा हुने गरेको भिर मौरी सिकारलाई पर्यटनसँग जोड्ने प्रयासमा लागिरहेको उनले बताए ।
कतिपय ठाउँमा भिर मौरीको सिकार पछिल्ला पुस्तामा पुस्तान्तरण हुन नसकेका अवस्थामा टाप गाउँमा भने यो सीप पुस्तान्तरण भएको पाइन्छ । एउटा भिर मौरीको सिकार गर्न करिब ६० देखि ७० जनासम्म आवश्यक हुनेमा टाप गाउँमा पुरानो पुस्तादेखि नयाँ पुस्तासम्म यसमा संलग्न हुने गरेको स्थानीय युवा जगतराम गुरुङले जानकारी दिए ।
भिर मौरीको मह प्रतिलिटर दुई हजार बिक्री हुने गरेको बताए । साहसिक पर्यटनको एउटा महत्त्वपूर्ण गतिविधिका रूपमा रहेको भिर मौरी सिकारलाई पर्यटनसँग जोड्न सकेमा पनि यहाँको पर्यटकीय विकासमा महत्त्वपूर्ण टेवा पुग्ने उनले बताए ।
बराह पोखरीबाट माथि दुई दिनको पदयात्रामार्फत अर्को धार्मिक पर्यटकीय गन्तव्य मेमे पोखरी पुग्न सकिन्छ । हिउँचुली हिमालको पानी आउने मेमे पोखरीमा प्रत्येक वर्षको जनैपूर्णिमामा विशेष मेला लाग्ने गर्दछ । विशेषगरी लमजुङकै गुरुङ तथा तामाङ समुदायले मेमे पोखरीलाई विशेष महत्वको धार्मिक तीर्थस्थलका रूपमा लिने गर्दछन् ।
मेमे पोखरी दर्शन गरिसकेपछि बराह पोखरीको दर्शन नगरे मेला पूरा नहुने विश्वासका कारण यी दुई पोखरीको अन्योन्याश्रित सम्बन्ध रहेको छ । कृषिप्रतिको अनिच्छाका कारण ग्रामिण बस्तीका जग्गाहरू बाँझो भए पनि टाप गाउँका स्थानीले बाँदरलगायत समस्याका बाबजुद मकै, कोदोलगायत खेतीपातिलाई निरन्तरता दिँदै आएका छन् ।
भिरमौरीका साथै पदयात्रा पर्यटनको गन्तव्यका रूपमा टाप गाउँको पर्यटकीय विकास गर्न सकिने दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए । यस क्षेत्रलाई पदयात्रा पर्यटनको गन्तव्य बनाउनका लागि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) सँगको सहकार्यमा दोर्दी, बारापाक सुलिकोट, अजिरकोट र दूधपोखरी गाउँपालिकाको समन्वयमा १६ दिनसम्मको पदयात्रा मार्ग तय गर्नेगरी प्रयास अघि बढेको उनले जानकारी दिए ।
सडक निर्माणसँगै पदयात्रा मार्गहरू छोटिएको वर्तमान सन्दर्भमा प्रस्ताव गरिएका पदमार्ग विकास हुन सके यो क्षेत्र पर्यटनको आकर्षक गन्तव्य बन्न सक्ने अध्यक्ष अधिकारीको भनाइ छ । उनका अनुसार पदमार्गअन्तर्गत नौथर सेराबाट इलम पोखरी, लिपे, नोटाँचे, मुलम्चे, उखण्ड, मेमे पोखरी, कुम्लेडाँडा हुँदै बराह पोखरी जोड्न सकिन्छ । त्यस्तै इलम पोखरीबाट नोटाँचे, नौथर सेराबाट दाम्राङ, लिपे हुँदै नोटाँचे जस्ता विभिन्न पदमार्गलाई जोड्न सकिने सम्भावना रहेको उनले बताए ।
टाप गाउँ पर्यटकीय रूपमा धेरै सम्भावना बोकेको ठाउँ भएकोले यसको प्रवर्द्धनमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले आवश्यक सहयोग गर्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख नविन पोख्रेलले बताए । ‘टाप गाउँलाई भिर मौरीको सिकारको गन्तव्यसँगै पदयात्रा पर्यटनसँग जोड्न सकिने धेरै सम्भावना छन्’, उनले भने, ‘गाउँका प्राचीन मौलिकता कायमै रहने गरी सुरुमा घरवास(होमस्टे) सञ्चालन गर्न आवश्यक छ ।’
टापमा घरवासको सञ्चालन एवम् यहाँको पर्यटन प्रवर्द्धनका लागि बोर्डका तर्फबाट आवश्यक सहयोगका लागि पोख्रेलले विश्वास व्यक्त गरे । भिरमौरी सिकारकै सम्भावना देखेर नेपाल पर्यटन बोर्डले दोर्दी गाउँपालिकालाई यहाँको भिरमौरी सिकारको प्रवर्द्धनका लागि सहयोग गरेको उनले जानकारी दिए ।
दोर्दी गाउँपालिकाको आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा टाप गाउँ माथि छौँदी भीरमा भिरमौरी सिकार महोत्सव २०८१ सम्पन्न भइसकेको छ । यसलाई आगामी वर्षमा पनि यस महोत्सवलाई पर्यटकीय रूपमा अघि बढाइने स्थानीय समाजसेवी सुकबहादुर गुरुङले बताए ।