गरिखानेका कथा

लीलामानलाई फाप्यो बङ्गुर पालन व्यवसाय, वार्षिक लाखौँ कमाइ

काठमाडौं । तनहुँको भानु नगरपालिका वडा नम्बर ९ का ४६ वर्षीय लीलामान श्रेष्ठ १० वर्ष विदेशमा बसे । विदेशमा उनले विभिन्न कम्पनी तथा मजदुरीको काम गरे । परदेशमा पसिना बगाएका लीलामानले काम सानो ठुलो हुँदैन भन्ने बुझेर स्वदेश फर्किए ।

विदेशमा कमाइ पनि राम्रो थियो तर पनि लीलामान गाउँमै इलम गर्छु भन्ने सोच राखेर स्वदेश फर्किएर बङ्गुर पालन व्यवसाय गर्न थाले । बाहिर काम गर्दा बङ्गुरबाट राम्रो फाइदा लिन सकिने बुझेपछि उनले गाउँ फर्किएर बङ्गुर पालन व्यवसाय गरिरहेका छन् । विगत ४ वर्षदेखि फार्म सफा गर्ने, बङ्गुरलाई दाना खुवाउने, बङ्गुरको उपचार गर्नेलगायत काममा उनको दैनिकी बितिरहेको छ ।

८ वर्ष देखि व्यवसाय थालेका उनले अहिलेसम्म लाखौँ लगानी गरिसकेका छन् । ‘म त यिनीहरूको साथीजस्तै भइसकेको छु, बङ्गुर देखाउँदै उनले भने, ‘बिहानदेखि रातिसम्मै यिनीहरूको स्याहारसुसारमा व्यस्त हुनुपर्छ ।’

श्रेष्ठ आफै बिहान सबेरैदेखि बेलुका अबरेसम्म आफ्नो फार्ममा व्यस्त रहन्छन् । उनी मात्रै होइन, उनले आफ्नो व्यवसायका लागि १५ जना कर्मचारी पनि राखेका छन् । कामलाई सानो ठुलो नमान्ने लीलामानले बङ्गुर पालन सँगै अन्य उद्योगहरू सञ्चालन गरेका छन् । सिरक डसना उद्योग, ट्याक्टर र ढुङ्गा काट्ने उद्योग पनि उनले चलाउँदै आएका छन् । उनले यी सबै व्यवसायमा १५ जनालाई रोजगारी दिएका हुन् ।

‘काम गर्न लजाउनु हुँदैन र कामलाई सानो ठुलो पनि मान्नु हुँदैन, लीलामानले खुसी हुँदै भने, ‘म आफै पनि यो काममा खटिन्छु । विभिन्न भोज र होटलहरुमा फालिएका खेर जाने खानेकुरा ल्याउँछु, देख्नेले फोहोर देखे पनि म यसमा मोहोर देख्छु ।’

अन्य व्यवसायमा भन्दा बङ्गुर पालनबाट राम्रो आम्दानी भइरहेको श्रेष्ठ बताउँछन् । उनले बङ्गुरबाट मात्रै वार्षिक २० लाख बचत हुने बताए । बङ्गुरको माग बढ्दो रहेको बताउँदै उनले बङ्गुरका पाठा पाठी किन्नको लागि बङ्गुर ब्याउन नपाउँदै बिक्री हुने भएकाले यसबाट राम्रो फाइदा लिन सकिने उनले बताए । उनले पाठा पाठी उत्पादन गरेर पनि आम्दानी गरिरहेका छन् । मासुका लागि वयस्क बङ्गुर पनि बिक्री गर्छन् । ५ वटा बङ्गुरबाट व्यवसाय थालेका उनीसँग अहिले ३० वटा बङ्गुर छन् ।

‘बङ्गुरबाट राम्रो आम्दानी हुन्छ । विदेशमा पसिना बगाउनु भन्दा आफ्नो घर र आफ्नो व्यवसायमा पसिना बगाउन पाउँदा खुसी लाग्छ, उनले भने,’आम्दानी राम्रो छ, म यो व्यवसायबाट धेरै खुसी छु ।’

आफ्नै व्यवसाय, आफै चिकित्सक
लीलामानको व्यवसायमा उनको परिवारले पनि साथ दिँदै आएका छन् । उनको परिवारको सदस्य निरू श्रेष्ठको यो व्यवसाय सञ्चालनमा धेरै ठुलो हात छ । निरूले नै पाठा पाठीको हेरचाह र स्याहारसुसार गर्ने गर्छिन् । यति मात्रै होइन, उनले बङ्गुरमा लाग्ने विभिन्न रोगको उपचार पनि आफै गर्छिन् । उनले बङ्गुरको उपचारका लागि आफ्नो छोराबाट सिकेको बताइन् । उनका छोराले भेटेरिनरी अध्ययन गरेका हुन् ।

उनैबाट निरूले पनि चिकित्सकको काम सिकेकी हुन् । जसबाट उनले अन्य भेटेरिनरी डाक्टरलाई दिने पैसा बचत भएको सुनाइन् । ‘चार वर्षदेखि यो व्यवसाय गर्दै आएका छौँ । पाठा पाठीहरूको अप्रेसन लगायतका उपचार म आफै गर्छु, उनले भनिन्’ बाहिरबाट मान्छे बोलाउँदा समयमा नआइदिने र आए पनि धेरै पैसा लिन्छन् । त्यो भन्दा आफै सिकेर चिकित्सकको काम म आफै गर्छु ।’

उद्योगमा सरकारी झन्झट
लीलामानले बङ्गुर पालन भन्दा पहिले विभिन्न उद्योग सञ्चालनमा ल्याएका थिए । सिरक डसना उद्योग, ट्याक्टर सञ्चालन र ढुङ्गा काट्ने उद्योग सञ्चालन गरेका थिए । तर,उनको यो पेसामा स्थानीय प्रशासनले दुख दियो । उद्योग सञ्चालनका लागि चाहिने सामान समेत पुलिस प्रशासनले रोकिदिँदा उनको व्यवसाय संकटमा पर्‍यो ।

सरकारी अवरोधका कारण समयमै सामान ल्याउन नसकिने र उद्योग सञ्चालनमा बाधा आएको कारण उद्योगहरूबाट पलायन हुने अवस्था आएको उनले सुनाए । स्थानीय प्रशासनले गाउँमा उद्योग सञ्चालन गर्दा प्रोत्साहन दिनुपर्नेमा असहयोग गरेको भन्दै दुख व्यक्त गरे । ‘तीन चार वटा व्यवसाय छ । अन्य व्यवसायमा प्रशासनले अनावश्यक दुख दिन्छ, उनले भने, ‘समयमै सामान ल्याउन नसक्दा उद्योग नै बन्द गर्नुपर्ने अवस्था छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *