अराजकता फैलाउनेहरू क्यानभित्रै छन्, म कानुनी उपचारमा जान्छु : पारस खड्का
काठमाडौं । नेपाल क्रिकेटको अभिभावकीय संस्था नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारख खड्काले संस्थाभित्रकै सदस्यहरूले नेपाली क्रिकेटमा अराजकता फैलाउन खोजिरहेको बताएका छन् । उनले त्यस विरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएका हुन् ।
सोमबार सचिव खड्काले पछिल्लो नौ महिनायता क्रिकेट भित्र आफ्नो नेतृत्वले गरेका केही सराहनीय कार्यको फलस्वरुप संस्था सही मार्गमा अघि बढिरहेको उल्लेख गर्दै संस्थाको हित नचाहने जिम्मेवार व्यक्तिहरूले आफू र संस्थाविरुद्ध अराजकता फैलाएको बताएका हुन् । उनले त्यस्ता गतिविधिविरुद्ध छानबिन गरी कानुनी कारबाहीमा जाने चेतावनी पनि दिएका छन् ।
‘कयौँ चुनौती र कठिनाइहरूलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैँमा महत्त्वपूर्ण छ । यद्यपि, यी सबैकाबीच संघका अध्यक्ष, सचिवलगायत सिंगो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउँदै आफ्नो व्यक्तिगत लाभ र प्रयोजन हत्याउने उद्देश्यसहित संघ भित्रका केही सदस्यहरूले हर सम्भव प्रयास गरिरहनु भएको कार्य दुःखद छ’ खड्काले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।
खड्काले नेपाली क्रिकेटलाई खेलाडीका रूपमा आफ्नो लगानीको २० वर्षलाई स्मरण गर्दै नेपाललाई क्रिकेटिंङ राष्ट्रका रूपमा आत्मनिर्भर बनेको हेर्ने सबैको सपनालाई साकार पार्न आफू लागेको बताएका छन् । तर, पछिल्लो समय उनी र संस्थाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेको विषयलाई लिएर चर्को आलोचना भइरहेको बेला उनले आफ्नो तर्फबाट सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका हुन् ।
उनले व्यक्तिगत लाभका लागि आफ्नो र संस्थाको नाम बदनाम गर्न खोज्ने संस्थाभित्रकै सदस्यलाई भने कानुनी कारबाहीको दायरामा ल्याउने बताए । ‘मैले २० वर्ष देशको लागि खेलाडीका रूपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आँच आउने गरी केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधार हीन वक्तव्यहरूको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानबिनसहित संस्थागत पद्धतिबाट छिट्टै नै कानुनी उपचार समेत खोजिने छ,’ सचिव खड्काले भनेका छन् ।
- हेर्नुहोस् पारसको पूरा भनाई :-
नेपाल क्रिकेटको अभिभावकीय संस्था रहेको नेपाल क्रिकेट संघ (क्यान) ले समग्र नेपाली क्रिकेट र खेलाडीहरूको पक्षमा काम गर्दै आएको छ। पछिल्लो ९ महिना यता नेपाल क्रिकेट भित्र भएका केही सराहनीय कार्यको फल स्वरूप सिङ्गो, संस्था नेपाल क्रिकेट संघ (क्यान) वर्तमान अवस्थामा सुमार्ग र सफलताको यात्रामा अघि बढिरहेको सर्वविदितै छ।
कयौँ चुनौती र कठिनाइहरूलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैँमा महत्त्वपूर्ण रहेको छ । यद्यपि यी सबैका बिच, संघका अध्यक्ष, सचिव लगायत सिङ्गो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउँदै आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्य सहित यसै संघ भित्रका केही सदस्यहरूले हरसम्भव प्रयास गरिरहनु भएको कार्य आफैँमा दुखद: हो।
नेपाली क्रिकेटमा खेलाडीको रूपमा मैले देशको झन्डा ओढ्दै यसको गरिमा र मान-प्रतिष्ठालाई थप उचाइमा लग्नका निम्ति गरेको २० वर्षको प्रयासलाई सम्झँदै यस खेलको विकासमा आफूलाई समर्पित गर्ने निधो गरेको हुँ। नेपाललाई क्रिकेटिङ राष्ट्रका रूपमा आत्मनिर्भर बनेको हेर्ने हामी सबैको सपनालाई साकार पार्दै नेपाल क्रिकेट संघको गरिमालाई थप उचाइमा पुर्याउनु मेरो लक्ष्य, जिम्मेवारी र प्रमुख कर्तव्य ठानेको छु – र यसै सपनालाई साकार पार्न संस्थागत रूपबाट केही गरौँ भन्ने सोचका साथ खेलाडी जीवनबाट संन्यास लिँदै नेपाल क्रिकेट संघको जिम्मेवारीपूर्वक काम गर्न पाउनु मेरो लागि सबैभन्दा ठुलो अवसर समेत ठानेको छु।
यस बिचमा मैले २० वर्ष देशको लागि खेलाडीका रूपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आँच आउने गरि केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधारहीन वक्तव्यहरूको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानबिन सहित संस्थागत पद्धतिबाट छिट्टै नै कानुनी उपचार समेत खोजिने छ।
साथै, नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरूलाई समेत यस प्रकारका व्यक्तिगत राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यस विश्वकपमा सक्दो हौसला प्रदान गरिदिनुहुन समेत हार्दिक अनुरोध गर्दछु।
विश्वकप जस्तो सर्वोच्च मञ्चमा नेपाली राष्ट्रिय क्रिकेट टोली सहभागी भइरहेको यो समयमा हामी सबैको ध्यान र साँचो समर्थन हाम्रो टोली र खेलाडीहरू प्रति रहनु आवश्यक रहेको छ। यो क्षणमा हामी सबैको मुख्य प्राथमिकता भनेको क्रिकेट हो भन्ने पक्षलाई मनन गर्दै सिङ्गो विश्वसामु लडिरहेका हाम्रा खेलाडीहरूको मनोबल र हौसला बढाइदिनु हुन र नेपाली टोलीलाई समर्थन गरिदिनुहुन समेत अनुरोध गर्दछु।