‘श्रमाधान रोजगार मेला’मा ८५ श्रमिकलाई रोजगारी सिफारिस

धनगढीमा सम्पन्न दुई दिने ‘श्रमाधान रोजगार मेला’ मा ८५ श्रमिकलाई रोजगारदातासमक्ष रोजगारी दिन सिफारिस गरिएको छ ।

मेलामा रोजगारदाताको तर्फबाट दुई हजार चार सय छ पदका लागि माग भएको थियो । रोजगारीका लागि दुई हजार छ सय ६९ ले निवेदन दिएका थिए । निवेदकमध्ये ८५ श्रमिकलाई सिफारिस गरिएको हो । श्रम तथा रोजगार कार्यालय धनगढीका प्रमुख जनकसिंह उखेडाले रोजगारदाता र श्रमिकबीच सीप, दक्षतासँगै सेवा सुविधामा कुरा मिले सिफारिस भएकाले रोजगारी पाउने बताए।

“रोजगारदाताले खोजेजस्तो दक्ष श्रमिकको निवेदन कम परेको देखियो”, उनले भने, “देशको अर्थतन्त्र कमजोर रहेको अवस्थामा रोजगार मेलाले रोजगारदाता र श्रमिकबीच सम्पर्क गराएर कम्तीमा झक्झक्याउने काम गरेको छ, यसले सकारात्मक परिणाम दिने विश्वास छ ।”

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका र नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ सुदूरपश्चिमको संयुक्त आयोजनामा सम्पन्न मेला दश हजार एकसय ५० ले अवलोकन गरेको आयोजकले जनाएको छ।

मेलाले रोजगारीका अवसर सिर्जना, सीप विकास प्रवर्द्धन, उद्यमशीलतालाई प्रोत्साहन र सार्वजनिक निजी साझेदारी अभिवृद्धिलगायतमा टेवा पुग्ने विश्वास गरिएको छ। नेपालमा कतिपय काम गर्नका लागि दक्ष श्रमिकको अभाव हुँदा यस्ता श्रमिक बाहिरबाट मगाउनुपर्ने अवस्था छ। प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति कम रहेको बताइएको छ।

श्रम कार्यालयका प्रमुख उखेडाले सुदूरपश्चिम प्रदेशमा प्राविधिक कामतर्फ अपरेटर, इन्जिनियरलगायतको दक्ष जनशक्तिको अभाव रहेको बताए। मेलामा आइएलओ, स्वीस हेल्भेटास, विश्वविद्यालय, नेपाल बैंकर्स एसोसिएसन, नेपाल नगरपालिका सङ्घ, गाउँपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल संयुक्त युनियन समन्वय केन्द्रको सहभागिता रहेको थियो ।

प्रत्येक प्रदेशमा रहेका स्थानीय तहहरु, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल, नेपाल माउन्टेरिङ एसोसिएसन, सेभ द चिल्ड्रो, वल्र्डलिङ्क कम्युनिकेसन र एभरेष्ट नेटकोसमेत मेलामा सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *