अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी–२० वरीयताको नवौँ स्थानमा

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्व वरीयताको नवौँ स्थानमा पुगेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र एक स्थान सुधार गर्दै नवौँ स्थानमा आइपुगेका हुन् ।

यसअघि उनी वरीयताको अलराउन्डरतर्फ १० औँ स्थानमा थिए ।

अलराउन्डरतर्फ शीर्ष स्थानमा अफगानिस्तानका मोहम्मद नाबी रहँदा दोस्रो स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस र तेस्रो स्थानमा श्रीलङ्काका वानिन्दु हसरङ्गा छन् ।

टी–२० वरीयताको अलराउन्डरतर्फ नेपालकै कुशल मल्ल ३५ औँ, गुल्सन झा ६२ औँ, कप्तान रोहित पौडेल ६६ औँ र करण केसी ६९ औँ स्थानमा छन् ।

टी–२० वरीयताको ब्याटिङतर्फ भारतका सूर्यकुमार यादव शीर्ष स्थानमा यथावत् छन्। यस्तै इङ्ग्ल्यान्डका फिल साल्ट दोस्रो र पाकिस्तानका बाबर आजम तेस्रो स्थानमा छन् ।

ब्याटिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरी ५२ औँ, रोहित पौडेल ५५ औँ र आसिफ शेख ९० औँ स्थानमा छन् ।

टी–२० वरीयताको बलिङतर्फ इङ्ग्ल्यान्डका अदिल रशिद शीर्ष स्थानमा यथावत् रहँदा अफगानिस्तानका रशिद खान र दक्षिण अफ्रिकाका एनरिच नोर्टजे समान चार स्थान सुधार गर्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा आइपुगेका छन् ।

बलिङतर्फ नेपालका सोमपाल कामी ९९ औँ स्थानमा अटाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *