फ्लोरिडामा वर्षा, वेस्टइण्डिज जान पाएन नेपाली टिम

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली वेस्टइण्डिज जान ढिलाइ भएको छ । आइसिसी टी-२० विश्वकप क्रिकेटका लागि नेपाली टिम बुधबार नै वेस्टइण्डिज जानु पर्नेमा खराब मौसमका कारण अमेरिकामै रोकिएको हो ।

अहिले पनि फ्लोरिडाको मौसम अत्यन्त खराब रहेकाले अधिकांश हवाई उडान रद्द भएका छन् । मंगलबारदेखिको झरी बुधबार पनि कायम रह्यो । बिहीबार पनि मौसम खराब हुने भन्दै त्यहाँको राष्ट्रिय मौसम विभागले एलर्ट (सूचना) जारी गरेको छ । जसकारण फोर्ट लाउडरडेल हलिउड अन्तर्राष्ट्रिय एयरपोर्ट र मायमी अन्तर्राष्ट्रिय एयरपोर्टका नियमित उडान प्रभावित भएका हुन् ।

मौसम विभागले बाढीको जोखिम रहेको भन्दै घरभन्दा बाहिर ननिस्कन आग्रह गरेको छ । फ्लोरिडामा मंगलबार हुने भनिएको नेपाल र श्रीलंकाबीचको खेल वर्षाका करण रद्द भएको थियो । र, दुवै टिमले अंक बाँडेका थिए ।

नेपालले अब वेस्ट इण्डिजमा दक्षिण अफ्रिका र बंगलादेश​सँग खेल्नेछ । वेस्ट इण्डिजमा पूर्वकप्तान तथा लेगस्पिनर सन्दीप लामिछाने नेपाली टोलीलाई पर्खिएका छन् । अमेरिका जान नपाएका उनले वेस्ट इण्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल भने खेल्ने छन् ।

नेपालले १५ जुनमा दक्षिण अफ्रिका तथा १७ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ । समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटको हार बेहोरेको थियो । नेपाल अहिले एक अंकसहित तालिकाको चौथो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *