आज विश्व रक्तदाता दिवस : रक्तसञ्चार सेवालाई व्यवस्थित बनाउन माग
काठमाडौँ । विविध कार्यक्रमको आयोजना गरी आज विश्व रक्तदाता दिवस मनाइको छ ।
हरेक वर्ष १४ जुनमा विश्व रक्तदाता दिवस मनाउने गरिन्छ । सोही अनुसार आज ‘रक्तदान उत्सवको दुई दशक, सबै रक्तदाताहरूलाई धन्यवाद’ भन्ने मूल नारासहित विश्व रक्तदाता दिवस मनाइएको हो । सो अवसरमा नेपाल रेडक्रस सोसाइटीले पनि काठमाडौं रक्तदानका कार्यक्रम आयोजना गरेर विश्व रक्तदाता दिवस मनाएको छ ।
कार्यक्रमका बारेमा जानकारी दिँदै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीले देशको करिब ११९ भन्दा बढी रक्तसञ्चार केन्द्रहरूमार्फत सेवा प्रदान गरिरहेको बताए । उनले कानुनी, संवैधानिक, स्वास्थ्यका मौलिक विषय र अधिकारहरू राज्यको तर्फबाट सुनिश्चित गरिएअनुसार त्यसमा रेडक्रसले पनि सहयोग गरिरहेको बताए ।
उनले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले रक्तसञ्चार सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन पहल गर्नुपर्ने बताए । उनले रेडक्रसले आफ्ना श्रोत साधन पनि व्यवस्थित गर्न आवश्यक रहेको बताए । उनले रगतको सेवाका बारेमा राज्यले पनि दीर्घकालीन नीतिहरू निर्माण गर्न अपरिहार्य रहेको बताए ।
उनले भने ‘नेपाल रेडक्रस सोसाइटीले देशको करिब ११९ भन्दा बढी रक्तसञ्चार केन्द्रहरूमार्फत हामी हाम्रा सेवा बिस्तार गरिरहेका छौँ । अहिले खासगरी राज्यको पुनः संरचना भइसकेपछि मानव जीवन जस्तो कुरा कति कुरा यसको कानुनी हिसाबले, संवैधानिक हिसाबले मान्छेको स्वास्थ्यका मौलिक विषय र अधिकारहरू राज्यको तर्फबाट त्यसको सुनिश्चित गरिएको छ । सबै तहको सरकार, खासगरी स्थानीय सरकार, प्रदेश सरकारले पनि रक्तसञ्चार सेवालाई थप व्यवस्थित गर्न आवश्यक छ । समयानुकूल नीतिगत व्यवस्था र प्रणाली आत्मसाथ गर्दै समायानुकुल विश्वव्यापी नयाँ प्रविधिको प्रयोग गर्न आवश्यक छ ।’
उनले नेपाल रेडक्रस सोसाइटीले प्रदर्शनीमार्गस्थित रक्तसञ्चार सेवाहरू प्रदान गरिरहेको बताए । स्थानीय, प्रदेश र केन्द्र सरकारले विश्व रक्तसञ्चार नीति आवश्यक परिमार्जन र व्यवस्थित गर्न आग्रह गरे ।