टि २० विश्वकपमा पहिलो पटक आमनेसामने हुँदै नेपाल र दक्षिण अफ्रिका
आईसीसी टी–२० विश्वकपमा शनिबार बिहान नेपालले समूहकै बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाको सामना गर्दैछ । खेल किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा नेपाली समय अनुसार, बिहान सवा ५ बजे सुरु हुनेछ ।
नेपाल र दक्षिण अफ्रिका समूह ‘डी’ मा छन् । यो समूहबाट दक्षिण अफ्रिका सुपर ८ मा पुगिसकेको छ भने नेपालको पनि झिनो सम्भावना छ। तर यसका लागि नेपालले शनिबार बिहानको यो खेल जित्नै पर्नेहुन्छ।
यो समूहका बङ्गलादेश र नेदरल्यान्ड्सको पनि सुपर ८ को सम्भावना छ। तर श्रीलङ्का भने समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ।
नेपालका लागि दक्षिण अफ्रिका बलियो प्रतिद्वन्द्वी हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा दक्षिण अफ्रिका सातौँ स्थानमा छ । नेपाल भने वरीयताको १७ औँ स्थानमा रहेको छ ।
दक्षिण अफ्रिका अघिल्लो संस्करणमा गरेको प्रदर्शनका आधारमा सिधै नवौँ संस्करणमा सहभागी भएको हो । नेपाल भने एसियाली क्षेत्रबाट छनोट चरण पार गर्दै विश्वकपमा सहभागी भएको हो । टी–२० विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो ।
यसअघि नेपालले सन् २०१४ मा विश्वकप खेलेको थियो । त्यतिबेला नेपालले समूहगत चरणमा तीनमध्ये दुई खेलमा जित हात पारेको थियो ।
समूह ‘डी’ मा नेपाल बाहेक अन्य टोलीले तीन–तीन खेल खेलिसकेका छन् । नेपालले भने आफ्नो तेस्रो खेल खेल्न लागेको हो । तीन खेलबाट ६ अङ्क बटुल्दै दक्षिण अफ्रिका पहिलो र समान खेलबाट चार अङ्क जोड्दै बङ्गलादेश दोस्रो स्थानमा छन् ।
यसैगरी तीन खेलबाट दुई अङ्क बटुलेको नेदरल्यान्ड्स तालिकाको तेस्रो स्थानमा छ । दुई खेलबाट एक अङ्क जोडेको नेपाल चौथो स्थानमा छ । तीन खेलबाट एक अङ्क जोडेको श्रीलङ्का पाँचौँ स्थानमा छ । नेपालले अन्तिम खेल बङ्गलादेशसँग खेल्नेछ ।
नेपाली टोली समूह चरणको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो।
नेपाल र श्रीलङ्काबिच हुने भनिएको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । त्यसपछि दुवै टोलीले एक–एक अङ्क पाएका थिए। शनिबारको खेलमा दक्षिण अफ्रिकालाई हराउन सके नेपाली टोली तीन अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लनेछ ।
नेपाल र दक्षिण अफ्रिकाको सिनियर टोलीले हालसम्म आपसमा एउटा पनि टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् । त्यसैले यी दुवै टोली एक–अर्काका लागि नयाँ प्रतिद्वन्द्वी हुन् ।
जारी विश्वकपमा नेपालको यसअघिको दुवै खेल अमेरिकामा थियो ।
अघिल्ला दुई खेलमा प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछाने नेपाली टोलीमा थिएनन् ।
अमेरिकाले भिसा दिन अस्वीकार गरेका कारण सन्दीप अमेरिका जान पाएका थिएनन् । तर, नेपालले जारी विश्वकपको पछिल्ला दुई खेल भने क्यारेबियन राष्ट्रमा खेल्दैछ । पछिल्ला दुवै खेलमा सन्दीप लामिछाने नेपाली टोलीमा रहने छन् । भोलिको खेलमा सन्दीप टोलीमा रहने भएपछि टोलि उत्साहित पनि छ।