आइटी क्षेत्रमा ५ वर्षसम्म कुनैपनि करका नीतिहरुमा परिवर्तन गर्दैनौँ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले इन्फरमेसन टेक्नोलोजीको क्षेत्रमा ५ वर्षसम्म कुनैपनि करका नीतिहरुमा परिवर्तन नगर्ने बताएका छन् ।
शनिवारबाट ललितपुरमा शुरु भएको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन, २०८१ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले इन्फरमेसन टेक्नोलोजीको क्षेत्रमा नेपालले अब फड्को मार्नुपर्ने बताए । उनले नेपालका लागि आइटी क्षेत्र प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र भएको पनि बताए ।
उनले १० वर्षमा ३० खर्बको आइटी उत्पादन निर्यात गर्नसक्ने महत्वाकांक्षी योजना सरकारले ल्याएको पनि बताए । उनले काठमाडौंमा तत्काल एउटा आइटी हब बनाउने र त्यसका लागि केही ठाउँहरु हेरिसकिएको पनि बताए ।
‘हामी ५ वर्षसम्म यस क्षेत्रको कुनैपनि करका नीतिहरुमा परिवर्तन गर्दैनौँ भनेका छौँ । काठमाडौंमा एउटा आइटी हब नै बनाउँछौँ भनेका छौँ । त्यसका लागि केही ठाउँहरु हेरिएको छ । सात प्रदेशमा नै हबको रुपमा विकास गर्ने’ उनले भने,‘काठमाडौंमा कम्तिमा १० ठाउँमा तत्काल आइटी सेन्टरहरु तत्काल स्थापना गर्ने सरकारको तर्फबाट र तीन वर्षलाई हामी कुनैपनि शुल्क नलिएर खासगरी ठूलो उद्यमको रुपमा विकास गरिसकेका साथीहरु अघि बढ्नुहुन्छ । तर नयाँ स्टार्टअपहरुलाई पनि प्रोत्साहन गर्ने रुपले जानेछौँ । गत आर्थिक वर्षमा ६६ अर्ब बराबरको आइटी सेक्टरको सेवा वा उत्पादन निर्यात भएको छ भने यो वर्ष १ खर्ब नाघ्ने अनुमान देखिन्छ । यो राम्रो हो । यो क्षेत्र हामी प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र हो ।’
उनले सात प्रदेशमा नै हबको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए । सरकारको तर्फबाट काठमाडौंमा कम्तिमा १० ठाउँमा तत्काल आइटी सेन्टरहरु स्थापना गर्ने र तीन वर्षलाई कुनैपनि शुल्क नलिने बताए ।
अर्थमन्त्री पुनले गत आर्थिक वर्षमा ६६ अर्ब बराबरको आइटी सेक्टरको सेवा निर्यात गरेको र आगामी एक वर्षभित्र १ खर्बको आइटी उत्पादन निर्यात गर्ने लक्ष्य राखेको बताए ।