बंगलादेशविरुद्ध नेपाललाई पाँचौं सफलता
काठमाडौं ।नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशविरुद्ध नेपाललाई पाँचौं सफलता मिलेको छ । नेपाललाई पाँचौं सफलता रनआउटको रूपमा प्राप्त भयो ।
बंगलादेशी अनुभवी ब्याटर महमुदुल्लाहलाई सन्दीप लामिछाने र गुलशन झाले मिलेर नवौँ ओभरको अन्तिम बलमा १३ रनमा रनआउट गराएका हुन् । नेपाललाई चौथो सफलता कप्तान रोहितकुमार पौडेलले दिलाए । उनले ५.४ ओभरमा तौहिद हृदयलाई ९ रनमा सन्दीप लामिछानेको हातबाट क्याच आउट गर्रा ।
नेपाललाई तेस्रो सफलता तीव्र गतिका बलर सोमपाल कामीले दिलाए । उनले ४.३ ओभरमा लिटन दासलाई १० रनमा क्याच आउट गराए । नेपाललाई दोस्रो सफलता दिलाउने अलराउन्डर दीपेन्द्र सिंह ऐरीले कप्तान नजमुल हुसेन शान्तोलाई चार रनमा बोल्ड गरे । त्यसअघि नेपाललाई सानदार सुरुवात दिलाउनेक्रममा सोमपालले तान्जिद हसन शून्यमै आउट गरे ।
सोमपालले उनलाई पहिलो ओभरको पहिलो बलमै तान्जिद हसनलाई शून्यमै पवेलियन फर्काएका हुन् । यो समाचार तयार पार्दासम्म बंगलादेशले १० ओभरमा महत्वपूर्ण ५ विकेट गुमाएर ५७ रन बनाएको छ ।
सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा भइरहेको खेलमा नेपालले आज पनि टस जितेर पहिला फिल्डिङ रोजेको हो । नेपालले आज प्लेइङ–११ एक खेलाडी परिवर्तन गरेको छ । नेपालले बंगलादेशविरुद्ध करण केसीको स्थानमा सन्दीप जोरालाई मौका दिएको हो ।
नेपालका लागि यो खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ । समूह ‘डी’ अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै सुपर–८ दौडबाट बाहिरिएको थियो । नेपालका लागि सोमबारको खेलमा गुमाउनुपर्ने केही छैन । यो खेल जितेमा नेपालले टेस्ट टोली बङ्गलादेशलाई हराएर नयाँ इतिहास बनाउनेछ ।
हालसम्म नेपालले कुनै पनि टेस्ट टिमलाई हराउन सकेको छैन । बंगलादेशसँग अहिलेसम्म नेपालले एकपटक खेलेको छ । सन् २०१४ मा भएको विश्वकप खेलमा बंगलादेशसँग नेपाल ८ विकेटले पराजित भयो ।
नेपाल यसपटक १० वर्षअघिको हारको बदला लिँदै बंगलादेशलाई स्तब्ध पार्न चाहन्छ । बंगलादेशी टिम आज नेपालभन्दा बढी दबाबमा छ । यदि नेपालसँग हार बेहोरेमा ऊ सुपर आठमा नपुग्न सक्छ । बंगलादेश अहिले चार अंकसहित दोस्रो स्थानमा छ ।
नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिलकुमार साह, रोहितकुमार पौडेल (कप्तान), गुलशन झा, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, अविनाश बोहरा र सन्दीप लामिछाने ।