बंगलादेशको छैटौँ विकेट गुम्यो, रोहितलाई दोस्रो सफलता

काठमाडौं । नवौँ संस्करणको आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशविरुद्ध नेपाललाई छैटौँ सफलता मिलेको छ । नेपाललाई छैटौँ सफलता कप्तान रोहितकुमार पौडेलले दिलाए ।

उनले ११.२ ओभरमा बंगलादेशी स्टार ब्याटर शकिब अल हसनलाई १७ रनमा एल्बडीब्लू धरापमा पारे । नेपाललाई पाँचौं सफलता रनआउटको रूपमा प्राप्त भयो । बंगलादेशी अनुभवी ब्याटर महमुदुल्लाहलाई सन्दीप लामिछाने र गुलशन झाले मिलेर नवौँ ओभरको अन्तिम बलमा १३ रनमा रनआउट गराए ।

नेपाललाई चौथो सफलता कप्तान रोहितकुमार पौडेलले दिलाए । उनले ५.४ ओभरमा तौहिद हृदयलाई ९ रनमा सन्दीप लामिछानेको हातबाट क्याच आउट गराए । नेपाललाई तेस्रो सफलता तीव्र गतिका बलर सोमपाल कामीले दिलाए । उनले ४.३ ओभरमा लिटन दासलाई १० रनमा क्याच आउट गराए ।

नेपाललाई दोस्रो सफलता दिलाउने अलराउन्डर दीपेन्द्र सिंह ऐरीले कप्तान नजमुल हुसेन शान्तोलाई चार रनमा बोल्ड गरे । त्यसअघि नेपाललाई सानदार सुरुवात दिलाउनेक्रममा सोमपालले तान्जिद हसन शून्यमै आउट गरे ।

सोमपालले उनलाई पहिलो ओभरको पहिलो बलमै तान्जिद हसनलाई शून्यमै पवेलियन फर्काएका हुन् । सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा भइरहेको खेलमा नेपालले आज पनि टस जितेर पहिला फिल्डिङ रोजेको हो । नेपालले आज प्लेइङ–११ एक खेलाडी परिवर्तन गरेको छ । नेपालले बंगलादेशविरुद्ध करण केसीको स्थानमा सन्दीप जोरालाई मौका दिएको हो ।

नेपालका लागि यो खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ । समूह ‘डी’ अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै सुपर–८ दौडबाट बाहिरिएको थियो । नेपालका लागि सोमबारको खेलमा गुमाउनुपर्ने केही छैन । यो खेल जितेमा नेपालले टेस्ट टोली बङ्गलादेशलाई हराएर नयाँ इतिहास बनाउनेछ ।

हालसम्म नेपालले कुनै पनि टेस्ट टिमलाई हराउन सकेको छैन । बंगलादेशसँग अहिलेसम्म नेपालले एकपटक खेलेको छ । सन् २०१४ मा भएको विश्वकप खेलमा बंगलादेशसँग नेपाल ८ विकेटले पराजित भयो ।

नेपाल यसपटक १० वर्षअघिको हारको बदला लिँदै बंगलादेशलाई स्तब्ध पार्न चाहन्छ । बंगलादेशी टिम आज नेपालभन्दा बढी दबाबमा छ । यदि नेपालसँग हार बेहोरेमा ऊ सुपर आठमा नपुग्न सक्छ । बंगलादेश अहिले चार अंकसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *