वेस्ट इण्डिजले लगातार चौथो जित निकाल्दा अफगानिस्तान १०४ रनले पराजित

काठमाडौँ । वेस्ट इन्डिजले अफगानिस्तानमाथि फराकिलो जित हासिल गरेको छ । मंगलबार बिहान सम्पन्न जारी टी-२० विश्वकपको समुह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको २१९ रनको लक्ष्य पछाएको अफगानिस्तानले १६.२ ओभरमा अल आउट हुँदै ११४ रन मात्र बनाएको थियो । अफगानिस्तानका लागि इब्राहिम जद्रानले सर्वाधिक ३८ रन बनाए भने अज्मतुल्लाह ओमार्जाईले २३ रन बनाएका थिए । त्यस्तै वेस्ट इन्डिजका बलर ओबेड म्याककोयले सर्वाधिक ३ विकेट लिए भने अकील हुसैन र गुडकेश मोतीले २-२ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाउँदै २१८ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि निकोलस पुरनले आक्रामक ब्याटिङ गर्दै ९८ रन बनाएका थिए । त्यस्तै जोन्सन चार्लेजले ४३, कप्तान रोभमन पावेलले २६ र शाइ होपले २५ रन बनाएका थिए ।

यो जितपछि समुह सी मा वेस्ट इन्डिज चारै खेल जितेर ८ अंकसहित सुपर आठमा पुगेको छ भने अफगानिस्तानले ४ मध्ये ३ खेल जितेर सुपर आठमा पुगेको छ । अब जारी विश्वकपमा सुपर आठका खेलहरू हुने छन् । सुपर आठमा भारत, अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका सुपर आठमा पुगेका छन् ।

सुपर आठको समूह एक मा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश रहेका छन् भने समुह २ मा अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका रहेका छन् । सुपर आठको दुई समूहमा रहेका देशले एक अर्कासँग एक एक खेल खेलेपछि शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । अब सुपर आठका खेलहरू जुन १९ देखि हुने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *