संसद् सचिवालय कर्मचारीका माग सम्बोधन गर्न सांसदहरुको माग

काठमाडौँ । आन्दोलनरत सङ्घीय संसद् सचिवालयका कर्मचारीका माग सम्बोधन गर्न राष्ट्रियसभा सदस्यहरूले जोड दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले घरभाडा समयानुकूल बनाउनुपर्नेलगायतका ११ बुँदे मागसहित आन्दोलनरत कर्मचारीका मागबारे सरकारको ध्यानाकर्षण गराए ।

बैठकको विशेष समयमा सांसद मायाप्रसाद शर्माले कर्मचारीहरूको माग जायज रहेको उल्लेख गर्दै उनीहरूका मागमा ऐक्यबद्धता जनाए ।

‘कार्यालय समयपछि पनि कतिपय कर्मचारीले काम गर्नुपर्ने भएकाले उनीहरूलाई अतिरिक्त सेवा सुविधा उपलब्ध गराउनुपर्छ’, उनले भने, ‘कर्मचारीहरूको तलब वृद्धि हुन सकेन, तलब वृद्धि गर्न सकेमा उनीहरूलाई थप हौसला मिल्ने छ ।’

सांसदद्वय श्रीकृष्णप्रसाद अधिकारी र नरबहादुर विस्टले कर्मचारीको माग सम्बोधन जरुरी रहेको बताए ।

हाल राजपत्राङ्कित कर्मचारीले आवास भत्तावापत तीन हजार पाँच सय प्राप्त गर्दै आएका छन् । राजपत्रअनङ्कित र श्रेणीविहीन कर्मचारीका लागि प्रतिमहिना तीन हजार आवास भत्ता तोकिएको छ ।

आन्दोलनरत कर्मचारीले राखेको ११ बुँदे मागको पहिलो बुँदामा घरभाडा वृद्धिको माग उल्लेख छ ।

सङ्घीय संसद् सचिवालय कर्मचारी प्रशासन नियमावली २०६५ को अनुसूची १२ मा रहेको यो व्यवस्था पुनरावलोकन हुनुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *