प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन : प्रभु साह

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालको नैतिकतामाथि प्रश्न उठाएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो टिप्पणी गरेका हुन् ।

अध्यक्ष साहले प्रधानमन्त्री दाहाल आफ्नो बोलीमा अड्न नसकेकाले पदमा बसिरहन नमिल्ने अवस्था आएको जिकिर पनि गरे । प्रधानमन्त्रीले संघमा ३ करोड भन्दा घटीको योजना रहँदैन भन्ने गरेपनि त्यो लागू नभएको उल्लेख गर्दै उनले आफ्नै कुरामा टिक्न नसक्ने प्रधानमन्त्रीले नैतिक रुपमा पनि पदमा बस्न नमिल्ने बताए । अध्यक्ष साहले नेपाली जनताले तिरेको कर पहुँचवालाको लागि मात्रै वितरण गर्ने काम गर्न नहुने बताए ।

उनले भने ‘सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नु भएको थियो–हामी यो संघीयतालाई कार्यान्वयन गर्छौं । अव संघमा ३ करोड भन्दा घटीको योजना रहँदैन । सोध्न चाहन्छु–प्रधानमन्त्रीजी तपाईँको कुरा चलेको छ कि छैन ? चलेको छैन भने तपाई कुन मोरलले त्यहाँ बस्नु हुन्छ ? यदि चलेको हो भने कसरी तपाईँको कुराको उल्लङ्घन भयो भनेर जान्नु ? सोध्न चाहन्छु । यदि कुनै मन्त्रीले तपाईँले भनेको कुरा मानेनन् भने उसलाई बर्खास्त गर्ने हैसियत राख्नुस् । यदि आफ्नै कुरामा टिक्नु भएको छैन भने तपाई मोरल्ली त्यहाँ बस्न मिल्छ जस्तो मलाई लाग्दैन । त्यस अर्थ पनि विश्वासको ठूलो खडेरी छ । नेपाली जनतामा विश्वास उठाउन जरुरी छ ।’

अध्यक्ष साहले नेपाली जनतामा विश्वासको ठूला खडेरी देखापरेको उल्लेख गर्दै त्यसलाई चिर्ने गरी काम गर्न पनि सरकारलाई दबाब दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *