सांसदका प्रश्नको समयमै जवाफ दिन सरकारलाई राष्ट्रिय सभा अध्यक्ष दाहालको रुलिङ

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको बैठकमा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

मंगलवारको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष दाहालले आकस्मिक, शून्य, विशेष र प्रादेशिक सरोकारका समयमा नागरिक सरोकारका विषय र समस्याका सम्बन्धमा विषयहरू उठान भएकाले सरकारका सम्बन्धित मन्त्रीहरूलाई जवाफ दिन ध्यानाकर्षण गराएका हुन् ।

उनले सभाको नियमावलीमा सांसदहरूले उठाएका विषयको जवाफ सम्बन्धित मन्त्रीले तोकिएको समयमा दिनुपर्ने व्यवस्था रहेको भएपनि प्रभावकारी हुन नसकेको बताए । उनले सम्बन्धित मन्त्रीले जवाफ दिने तालिका समेत सचिवालयले सम्बन्धित मन्त्रालयमा पठाएको तर जल्दाबल्दा विषयको तोकिएको समयमा सभामा उपस्थित भई जवाफ दिने अभ्यास प्रभावकारी नभएको बताए ।

उनले भने ‘मान्य सदस्यहरू सभाको बैठकमा मान्य सदस्यहरूले आकस्मिक, शून्य, विशेष र प्रादेशिक सरोकारका समयमा नागरिक सरोकारका विषय र समस्याका सम्बन्धमा विषयहरू उठान गर्ने र नेपाल सरकारका सम्बन्धित मन्त्रीहरूको जवाफ आउनुपर्ने विषय राखिरहनु भएको छ । सभाको नियमावलीमा यस्ता विषयको जवाफ सम्बन्धित मन्त्रीले तोकिएको समयमा दिनुपर्ने व्यवस्था समेत गरेको छ । सम्बन्धित मन्त्रीले जवाफ दिने तालिका समेत सचिवालयले सम्बन्धित मन्त्रालयमा पठाएको छ । तर यस्ता जल्दाबल्दा विषयको तोकिएको समयमा सभामा उपस्थित भई जवाफ दिने अभ्यास त्यति प्रभावकारी हुन सकेको छैन । म नेपाल सरकार र सम्बन्धित मन्त्रीहरूलाई सभामा उठेका विषयहरूको समयमै जानकारी लिई तोकिएकै समयमा सभामा जवाफ दिनुहुन गम्भीर ध्यानाकर्षण गराउँछु ।’

उनले सभामा उठेका विषयहरूको समयमै जानकारी लिई तोकिएकै समयमा सभामा जवाफ दिन सरकार र सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *